काठमाडौँ लकडाउनको घोषणा हुने सम्भावना, आपूर्तिमन्त्री भट्ट भन्छन् -नआत्तिनुस्, लकडाउन भइहाले घरघरमै सामान पुर्याउछौं

 

काठमाडौँ , चैत ७ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ जनतालाई सम्बोधन गर्ने भएका छन् । उनले सम्बोधन गर्ने समाचार आएसँगै केहि नया निर्णय हुने हल्ला चलेको छ । कोरोनाविरुद्धको लडाइको पछिल्लो अवस्थाबारे सार्वजनिक रुपमा जनतालाई आश्वस्त पार्न सम्बोधन गर्न लागेका हुन् ।
प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईका अनुसार प्रधानमन्त्रीले आजै साँझ रेडियो नेपाल र नेपाल टेलिभिजनमार्फत जनतालाई सम्बोधन गर्ने तय भएको छ ।

प्रधानमन्त्रीको सम्बोधनलगत्तै उपप्रधानमन्त्री पोखरेलले उच्चस्तरीय समिति बैठक राखेर थप निर्णय गर्नेछन् ।संबोधनका क्रममा प्रधानमन्त्री ओलीले विशेष घोषणा पनि गर्ने तयारी गरेका छन् । उनको घोषणामा काठमाडौँलाई लकडाउन गर्ने सम्भावना रहेको स्रोतले जनाएको छ । कोरोनाले विश्वभरी नै उग्ररुप लिएपछि यस्तो सम्भावना बढेको आंकलन गरिएको छ ।

यता यस्तो समाचार आइरहदा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले भने दैनिक उपभोग्य सामान र औषधिको मौज्दात पर्याप्त रहेकाले अभाव हुन्छ कि भन्ने डर नपाल्न आग्रह गरेका छन्।
मन्त्री भट्टले ’लकडाउन’ भइहाले पनि जनतालाई आवश्यक वस्तुको अभाव हुन नदिने गरी सरकारले तयारी गरेको दाबी गरे।

मन्त्री भट्टले सुरक्षाकर्मी, स्वयंसेवक, पार्टीका कार्यकर्ता खटाएर आवश्यक परे जनताका घर-घरमा आवश्यक सामाग्री र्पुयाउने प्रबन्ध मिलाइएको बताए । मन्त्री भट्टका अनुसार देशमा अहिले १० महीनाका लागि पुग्ने खाद्य सामाग्री र ६ महीनाका लागि पुग्ने औषधि छ। उनले केही कठिनाइका बाबजूद पनि आवश्यक सामानहरू सावधानी पूर्वक आयात गर्ने प्रवन्ध मिलाइएको पनि बताए।

मन्त्री भट्टले भनेका छन्। ’’राज्यप्रति विश्वास गर्नुस्, आवश्यक र्पयो भने जनताका घर-घरमा पुगेर आवश्यक सामाग्री र्पुयाउने तयारी हामीले गरेका छौं। राज्य भनेको राज्य हो। जनतालाई भोकै मर्न दिँदैनौं’’,

प्रतिक्रिया दिनुहोस्