कोरोना भाइरसबाट मृत्यु हुने संख्या दश हजार नाघ्यो, चीनमा भन्दा इटलीमा भयावह !

काठमाडौं, चैत ७ । गएको डिसेम्बरबाट देखिएको कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या दश हजार नाघेको छ । चीनको हुपेई प्रान्तको वुहानबाट शुरु भएको कोरोना भाइरस १८० देशमा फैलिसकेको छ ।

तर, यसको मुख्य प्रभाव भने चीन, इटाली, इरान र स्पेनमा देखिएको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले यूरोपलाई कोरोना भाइरसको ‘इपीसेन्टर’ घोषणा गरेको छ । यूरोपको इटाली कोरोनाको उच्च संक्रमणमा देखिएको छ । इटालीमा चीन भन्दा बढी मृतक संख्या देखिएको छ ।

इटालीमा ३४ सय बढीको मृत्यु भइसकेको छ भने २४ सय बढी गम्भीर बिरामी छन् । चीनमा ३२ सय ४८ को मृत्यु भएको छ भने २१ सय ३६ जना गम्भीर बिरामी छन् । चीन भने कोरोना नियन्त्रण गर्न सफल देखिएको छ ।

चीनमा ३९ जनामा मात्रै संक्रमण देखिएको छ । यी संक्रमित पनि यूरोप र अमेरिकाबाट फर्किएका नागरिक भएको चीन सरकारले जनाएको छ । चीनमा ८० हजार बढीमा संक्रमण देखिएकोमा ७१ हजार उपचार निको भइसकेको छ ।

चीन सरकाले अपनाएको उच्च सकर्तताकै कारण यति ठूलो संख्यामा बिरामीको उपचार सफल भएको अन्तर्रा्ष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । कतिपयले यसलाई मानव इतिहासकै सफल प्रयासका रुपमा समेत व्याख्या गरेका छन् ।

चीन कोरोना नियन्त्रण गर्न सफल भएपनि यूरोप र अमेरिकामा भने यसको संक्रमण झनै बढेको छ । इटालीमा ४१ हजारमा संक्रमण देखिएमा अहिलेसम्म साढे चार हजारलाई मात्रै निको भएको छ । इरानमा १२ सय ८४, स्पेनमा ८३१, फ्रान्समा ३७२ जनाको मृत्यु भएको छ ।

अहिलेसम्म २३ देशमा सय भन्दा बढीमा संक्रमण देखिएको छ । डब्लुएचओले महामारी घोषणा गरेको कोरोनाबाट अहिलेसम्म झण्डै अढाई लाख संक्रमित भएका छन् भने ८८ हजार निको भएका छन् ।

प्रतिक्रिया दिनुहोस्