कोरोनाको असरः आइपिएल १८ दिन पछि सारियो
काठमाडौं, फागुन ३० । कोरोना भाइरसको संक्रमण बढ्दै गएकाले इन्डियन प्रिमियर लिग (आइपिएल) १८ दिन पछि सर्ने भएको छ। यसअघि चैत १६ गतेदेखि गर्ने भनिएको प्रतियोगिता अहिले वैशाख ३ गतेका लागि नयाँ मिति तोकिएको हो।
बन्द स्टेडियममा खेल गर्ने कि प्रतियोगिता सार्ने भन्ने विषयमा भएको छलफलपछि मिति सार्ने निर्णय भएको हो। भारत सरकारले खेल स्थगित नगर्ने तर मानिसहरु धेरै जम्मा हुने काम नगर्न भनेपछि बन्द स्टेडियममा खेल गर्ने गरी सम्बन्धितहरु लागिपरेका थिए।
विश्व खेलकुदमा परिरहेको असर इन्डियन प्रिमियर लिग (आइपिएल) मा नपर्ने भारतीय क्रिकेटको सर्वोच्च निकाय बिसिसिआईले यसअघि बताइरहे पनि विश्व स्वास्थ्य संगठनले नै महामारी घोषणा गरेका कारण प्रतियोगिता सार्ने निर्णयमा पुगेको हो।
चीनबाट सुरु भएको कोरोना भाइरसको संक्रमण जसमा भारतमा नै ७० जनाभन्दा बढीमा संक्रमण देखिएको छ। भारतका ११ राज्यमा कोरोना संक्रमित भेटिइसक्दा समेत दर्शकको अधिक भिडभाड हुने आइपिएल जस्तो प्रतियोगिता गर्ने अडान लिनु राम्रो नभएको खेल सम्बद्धहरुले नै बताएका थिए।
शनिबार आइपिएलसम्बद्धहरुको बैठक बस्ने र प्रतियोगिताका अन्य विषयमा निर्णय गरिने बताइएको छ। कोरोना भाइसका कारण सबै खेलहरु स्थिगीत भएका छन् ।
प्रतिक्रिया दिनुहोस्