कोरोनाको त्रास: श्रम स्वीकृति अनिश्चितकालका लागि बन्द,

काठमाडौं , फागुन ३० । चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको प्रभाव विश्वव्यापी बनेको छ । अहिलेसम्म १ सय २७ वटा देशमा कोरोना भाइरसको संक्रमण देखिएको छ ।विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसलाई महामारीको घोषणा समेत गरेको छ ।

सरकारले वैदेशिक रोजगारीका लागि दिने गरेको श्रम स्वीकृति बन्द गरेको छ । वैदेशिक रोजगार विभागका महानिर्देशक कुमारप्रसाद दाहालले अर्को सूचना जारी नभएसम्मका लागि श्रम स्वीकृति बन्द गरिएको बताए ।

वैदेशिक रोजगार कार्यालयले श्रम स्वीकृति स्थगन गरिएको भन्दै सूचना जारी गरेको छ । सूचनामा भनिएको छ, ‘‘कोरोना रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको निर्णयअनुसार श्रम स्वीकृति स्थगन गरिएको जनाएको छ । ‘अर्को सूचना जारी नभएसम्म वैदेशिक रोजगारीका लागि दिइने श्रम स्वीकृति स्थगन गर्ने निर्णय गरिएको’ कार्यालयले जनाएको छ ।

यसअघि कतारको श्रम स्वीकृति दिन बन्द गरिएको थियो । कतार सरकारले नेपालीलाई कतार जान रोक लगाएपछि सरकारले श्रम स्वीकृति दिन बन्द गरेको थियो । अब नेपाली रोजगारीका लागि कुनै पनि मुलुकमा जान श्रम स्वीकृति तत्काल पाउने छैनन् । यसको प्रत्यक्ष असर रेमिट्यान्स आयमा पर्नेछ ।
कतार, मलेसिया, युएइ, साउदी अरब, कुबेत, जापान, बहराइन, दक्षिण कोरियालगायत नेपालीको प्रमुख श्रम गन्तव्य मुलुक हुन् ।

वैदेशिक रोजगारीमा गएका नेपाली श्रमिकले पठाएका रेमिट्यान्सले मुलुकको अर्थतन्त्र धान्दै आएको छ । अब कोरोनाका कारण रेमिट्यान्स पनि प्रत्यक्ष प्रभावित हुने भएको छ । मुलुकमा बर्से्नि ८ खर्ब बढी रुपैयाँ रेमिटेन्स भित्रने गर्दथ्यो । ४ मार्च अर्थात् शनिवारदेखि नेपाल प्रवेश गर्ने नेपाली, गैरआवसीय नेपाली र विदेशीहरुले १४ दिनसम्म क्वारेन्टाइनमा बस्नुपर्ने छ ।

विश्वभर फैलीएको कोरोनाले गर्दा यति बेला नेपालमा पनि डर र त्रास फैलीएको छ । कोरोनाको संक्रमण नेपालमा फैलीन नदिन सरकारले विभन्न सावधानी अपनाइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्