कोरोनाको महामारी– ८ देशबाट नेपालमा आउने विदेशी तथा नेपालीलाई १४ दिन क्वारेन्टाइनमा राखिने

काठमाडौं, फागुन २९ । विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड–१९)को संभावित संक्रमणबाट बच्न भन्दै सरकारले ८ देशबाट आउने विदेशी तथा नेपालीलाई १४ दिन क्वारेन्टाइनमा राखिने जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार पत्रकार सम्मेलन गर्दै कोरोना संक्रमणको उच्च जोखिममा रहेका ८ वटा देशबाट आउने स्वदेशी तथा विदेशी नागरिकलाई १४ दिने क्वारेन्टाइनमा राखिने जनाएको हो ।
सरकारले चीन तथा चीन स्वशाति क्षेत्र, इरान, इटाली, दक्षिण कोरिया, जापान, फ्रान्स, जर्मनी र स्पेनबाट आउने नेपाली तथा विदेशीलाई १४ दिने क्वारेन्टाइनमा राख्ने तयारी गरेको हो ।

सरकारले ती देशबाट आउने नागरिकले विमानस्थलमै पाउने गरेको अनअराइभल भिसा यसअघि नै रोकिसकेको छ । ती देशबाट आउने विदेशी नागरिकहरुले आफू कोरोना भाइरसबाट मुक्त रहेको प्रमाण देखाए मात्रै नेपाल प्रवेश गर्न पाउनेछन् । ती देशबाट आउने नेपालीहरुलाई भने क्वारेन्टाइनमा राखी कोरोना संक्रमण नभएको पुष्टि भएपछि मात्रै घर पठाइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव यादव कोइरालाले जानकारी दिए ।

यस्तै सरकारले पर्यटक भिसामा नेपाल आएका हरेक विदेशीको अवस्था र उनीहरुका गतिविधिमाथि निरन्तर निगारानी गरिने पनि जनाएको छ । अध्यागमन विभागले हालै प्रचलनमा ल्याएको ‘नेपाल पोर्ट’ नामक सफ्टवेयरको मद्दतबाट विदेशी नागरिकलाई ट्र्या्किङ गरिने स्वास्थ्य मन्त्रालयका सचिव कोइरालाले जानकारी दिए ।

कोरोना नभएको प्रमाणित हुने कागजात अनिवार्य

सरकारले कोभिड–१९ ९कोरोनाभाइरस० को संक्रमणलाई नेपालमा फैलन नदिन सो रोगको उच्च संक्रमण भएका ८ मुलुकहरु चीन, इरान, इटाली, दक्षिण कोरिया, जापान, फ्रान्स, जर्मनी र स्पेनका नागरिकलाई नेपाल आउन अनअराइभल भिसा स्थगित गरिएको जनाएको छ ।

कोभिड–१९ रोगको उच्च जोखिम भएका ती मुलुकहरुबाट आउने यात्रुलाई रोग नभएको प्रमाणित हुने कागज लिएर मात्र नेपाल प्रवेश हुन पाउने प्रावधान अनिवार्य गरिएको पनि सरकारले जनाएको छ ।

उच्च जोखिम भएका मुलुकहरुबाट आउने सबै यात्रुका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ज्वरोको स्क्रिनिङ्ग र स्वघोषणा फारम भर्ने अभियानलाई अनिवार्य लागू गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

यस क्रममा स्वस्थ रहेका व्यक्तिहरुलाईसेल्फ क्वारेन्टाइनमा बस्ने लिखित प्रतिवद्धतासहित पालना गर्नुपर्ने नियमहरुका बारेमा सूचित गर्ने व्यवस्था गरिएको पनि स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

सरकारले यो संक्रमण रोकथामका लागि चीन र भारतसँग सीमा जोडिएका प्रवेश नाकाहरुमा स्थापना भएका ४३ वटा हेल्थ डेस्कहरुबाट नेपाल प्रवेश गर्ने व्यक्तिहरुको स्क्रिनिङ्ग, स्वास्थ्य परीक्षण कार्यलाई निरन्तरता दिने समेत जनाएको छ ।

रोगबारे निगरानी, रोकथाम र नियन्त्रणका लागि मन्त्रालयले १८ जना सर्भिलेन्स अधिकृत खटाउने तयारी समेत गरेको प्रवक्ता विकास देवकोटाले जानकारी दिए ।

उनका अनुसार देशव्यापी रुपमा चेतनामूलक जानकारी प्रवाह गर्ने तथा केन्द्रीय तथा प्रादेशिक स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रहरुबाट प्रदेश सरकार र स्थानीय तहसँग बिरामीको उपचार तथा व्यवस्थापन गर्न समन्वय भइरहेको छ ।

त्यसैगरी नेपाल–भारत सीमामा सचेतना तथा सतर्कता अपनाउन आवश्यक समन्वय गर्नका लागि क्रस बोर्डर मिटिङ्ग भइरहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार संक्रमण फैलिएमा देखिन सक्ने विभिन्न तीन किसिमका अवस्था आँकलन गरी सोही अनुरुप चाहिने आइसोलेसन बेड, औषधी उपकरण, आवश्यक जनशक्तिसहितको योजना बनाइएको छ ।
४५० जनाको नुमना परीक्षण

मन्त्रालयले हालसम्म ४५० जनाको नुमना परीक्षण भएकोमा १ जनामा मात्रै कोरोना भाइरस पोजेटिभ देखिएको छ । ती एक जना पनि निको भइसकेका छन् । यस्तै संक्रमणको आशंकामा ६ जना राजधानीको टेकु र पाटन अस्पतालको आइसोलेसन वार्डमा रहेको पनि मन्त्रालयले जनाएको छ ।

यसैबीच मन्त्रालयले कोही नागरिक नेपाल बाहिर जान लागेको खण्डमा कोरोना नरहेको प्रमाणपत्र चाहिने अवस्थामा टेकु अस्पतालले आवश्यक जाँचको आधारमा रिपोर्ट दिने गरेको पनि जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्