चीनले भन्योः हाम्रो देशमा कोरोनाको प्रभाव समाप्त भयो

काठमाडौं, फागुन २९ । चीनले कोरोना भाइरस ‘कोभिड–१९’ को प्रभाव चीनमा समाप्त भएको बताएको छ।सिन्ह्वाका अनुसार चीनको राष्ट्रिय स्वास्थ्य आयोगले बिहीबार कोरोनाको प्रभाव समाप्त भएको जानकारी दिएको हो।

विश्व स्वास्थ्य संगठन डब्लूएचओले कोरोनालाई महामारी घोषणा गरेकै भोलिपल्ट चीनले आफ्नो देशमा कोरोनको प्रभाव समाप्त भएको घोषणा गरेको हो।केहीदिन अगाडि मात्र चीनका राष्ट्रपति सी चिनफिङ कोरोनाको उद्गमस्थल हुपेइको वुहान शहर पुगेका थिए।

चीनमा कोरोनाले संक्रमित र मृतकको संख्या घट्दै जाँदा सी वुहान पुगेका थिए। उनले वुहानमा पुगेर हुपेइ र वुहानमा कोरोना नियन्त्रणमा आइसकेको बताएका थिए।कोरोना भाइरस ‘कोभिड–१९’ का कारण बिहीबारसम्म विश्वभर ४ हजार ६३६ जनाको मृत्यु भइसकेको छ।

दैनिक कोरोना संक्रमित बढ्दै जाँदा मृतकको संख्या बढ्दै गएको हो। हालसम्म १ लाख २६ हजार ४८३ जना कोरोनाबाट संक्रमित भेटिएका छन्।तर पछिल्लो समय चीनमा कोरोनाको प्रभाव घट्दै गएको छ। चीनमा हालसम्म ८० हजार ७९६ संक्रमित भेटिएका छन्। त्यहाँ ३ हजार १६९ को मृत्यु भएको छ भने ६२ हजार ८०९ उपचारपछि स्वस्थ्य बनेका छन्।

गएको २४ घण्टामा चीनमा ११ को मृत्यु हुँदा १८ संक्रमित थपिए। यो दर अन्य देशको भन्दा न्युन हो।

प्रतिक्रिया दिनुहोस्