नीलकण्ठ नगरपालिका र नेपाल बैंकबिच सहुलियत ऋण प्रवाहमा सम्झौता

काठमाडौं । नेपाल बैंक लिमिटेड र नीलकण्ठ नगरपालिकाबीच ब्याज अनुदान तथा सहुलियत ऋण प्रवाह सम्बन्धी सम्झौता भएको छ । नीलकण्ठ नगरपालिकाको विकास उद्यमशीलता कार्यक्रम नेपाल बैंकमार्फत कार्यान्वयन गर्ने गरी ब्याज अनुदान तथा सहुलियत ऋण प्रवाह सम्बन्धमा सम्झौतामा हस्ताक्षर भएको बैंकका प्रवक्ता प्रकाशकुमार अधिकारीले बताए ।

धादिङ सदरमुकाम धादिङ बेशीमा आयोजित एक समारोहमा नीलकण्ठ नगरपालिकाको तर्फबाट नगर प्रमुख भीमप्रसाद ढुंगाना र नेपाल बैंकका तर्फबाट बैंकका बागमती प्रदेश प्रमुख सुन्दर पन्थीले सम्झौतामा हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार चालु आर्थिक वर्षमा नीलकण्ठ नगरपालिकाका २८० उद्यमीले प्रत्यक्ष लाभ लिने छन् । सम्झौता लागू भएसँगै उद्यामीले नगरपालिकाको सिफारिसमा नेपाल बैंकबाट कर्जा प्राप्त गर्नेछन् ।

उक्त कर्जामा उद्यमीले ब्याजमा अनुदान पाउनेछन् । सम्झौता बमोजिम असल ऋणीमध्ये महिलाले ६ प्रतिशत र पुरुषले ५ प्रतिशत व्याज अनुदान प्राप्त गर्नेछन् । बैंकले यो कर्जा प्रवाह गर्दा सेवा शुल्क नलिने जनाएको छ । सम्झौता तथा घोषणा सभामा नेपाल बैंकका अध्यक्ष वासुदेव अधिकारीले नगरपालिकासँग सहकार्य गर्न पाएकोमा खुशी व्यक्त गर्दैै यस कार्यक्रमबाट किसानले सहुलियतपूर्ण कर्जा सुविधा पाउने बताए ।

नगरपालिकाबाट पनि थप ब्याज अनुदान प्राप्त हुने उनको भनाई छ । नगर प्रमुख ढुंगानाले नेपाल बैंकमार्फत मेयर विकास उद्यमशीलता कार्यक्रम सञ्चालन गर्न पाउनु गौरवको विषय भएको बताए ।

प्रतिक्रिया दिनुहोस्