१० दिनमा ३३ व्यापारिक फर्मलाई कारबाही , अधिकांश औषधि पसल

काठमाडौं, फागुन २९ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले पछिल्ला १० दिनमा ३३ वटा व्यापारिक फर्मलाई कारबाही गरेको छ।

उपभोक्ता संरक्षण ऐन २०७५ विपरीत हुनेगरी कृत्रिम अभाव सिर्जना गरी कालोबजारी, मूल्यवृद्धि, गुणस्तरहीन वस्तुको बेचबिखन तथा खरिद(बिक्री बिलबिजकबिनै व्यापार गरिरहेका यस्ता व्यापारिक फर्मलाई कारबाही गरिएको हो। कारबाहीपछि विभागले ती व्यापारीलाई २५ लाख १५ हजार रुपैयाँ जरिवानासमेत तिराएको छ।

खराब व्यापारिक क्रियाकलाप गर्ने त्यस्ता फर्ममा अधिकांश औषधि पसल छन। त्यसमा पनि सर्जिकल मास्क र सेनिटाइजरको कृत्रिम अभाव सिर्जना गरि बढी मूल्यमा बेच्ने औषधि पसलहरु कारबाहीमा परेका छन्। केही औषधि पसलले खरिद बिक्री बिल बिजक नराखेको तथा दर्ता नगरिकनै व्यवसाय सञ्चालन गरेको कसुरमा पनि विभागले जरिवाना तिराएको छ।

यो अवधिमा मास्क र सेनिटाईजर बढी मूल्यमा बेच्ने ९ वटा व्यापारिक फर्मलाई २–२ लाख रुपैयाँ जरिवाना तिराईएको छ। फागुन २० गतेको बजार अनुगमनका क्रममा विभागले क्षेत्रपाटीमा रहेको नेपाल केयर सर्जिकल सप्लायर्सलाई पहिलोपटक मास्क र सेनिटाइजरमा बढी मूल्य उपभोक्ताबाट असुल गरेको भन्दै पहिलो पटक कारबाही गरेको थियो। त्यसपछि हरेक दिनजसो औषधि पसल कारबाहीमा परिरहेका छन।

प्रतिक्रिया दिनुहोस्