कोरोनाभाइरस: सङ्क्रमण रोकथामको पूर्वतयारी नभएको भन्दै संसद्मामा सरकारको चर्को आलोचना

काठमाडौं, फागुन २९ । नेपालमा कोरोनाभाइरस सङ्क्रमण रोकथामका लागि पर्याप्त पहल नगरेको भन्दै सांसदहरूले सरकारको चर्को आलोचना गरेका छन्।प्रतिनिधिसभाको बिहीवारको बैठकमा बोल्दै सांसदहरूले सरकारको आलोचना गरेका हुन्।

प्रतिनिधि सभा बैठकमा सांसदहरुले कोरोना भाइरसको संक्रमण फैलनु भन्दा पहिलै सावधानी अपनाउन संसद, स्कुल र सार्वजनिक यातायात बन्द गर्न माग गरेका छन् ।बैठकको शून्य र विशेष समयमा बोल्दै सांसदहरूले ’अन्य देशहरूले कोरोनाभाइरससँग जुझ्न अपनाएको जस्तो पूर्व सतर्कता नेपालले अपनाउन नसकेको’ आरोप लगाए।

प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसकी सचेतक पुष्पा भुसालले “सरकार र मन्त्रीहरूकै अभिव्यक्तिले जनतामा थप त्रास बढेको“ बताइन्।विशेष समय लिएर बोल्दै उनले भनिन्, “सरकारकै मन्त्रीले जनतामा त्रास उत्पन्न हुनेखालको सन्देश प्रवाह गरेको हामीलाई अनुभव भएको छ। कोरोनाभाइरसका नाममा कालोबजारी बढ्ने सङ्केत देखिएको छ।“

विहीवार बसेको संसद बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद भीमसेनदास प्रधानले कोरोनाको संक्रमण फैलनु भन्दा पूर्व नै सरकारले आवश्यक कदम चाल्नुपर्ने बताए ।कोरोनाको संक्रमण फैलिएमा नेपालले थेग्न सक्ने अवस्था नरहेकाले पहिले नै सचेत हुनुपर्ने उनको भनाइ थियो ।

‘संसद अहिले पनि निरन्तर चलाइरहेको छ । जहाँ भीडभाड हुन्छ त्यहाँ संक्रमण हुने खतरा हुन्छ । स्कूलहरु बन्द गर्नुर्पयो’ उनले भने,‘फैलिहाल्यो भने हामीसँग केही पूर्वाधार छैन यसलाई रोक्न, अमेरिका युरोपले त उडानहरु, यातायात रोकेका छन् हामीले चलाइरहेका छौं ।’कोरोनाको संक्रमण फैलियो भने नेपालले नियन्त्रणमा लिन नसक्ने र धेरै मानिसहरुको ज्यान जाने हुँदा पूर्व सावधानी अपनाउनु पर्ने उनको भनाइ छ ।

विश्व स्वास्थ्य संगठनले कोरोना प्रकोप विश्वव्यापी भएको भनेको कुरा उल्लेख गर्दै उनले अमेरिका, युरोप र अन्य धनी मुलुकले कोरोना प्रकोप रोक्न नसकेको भन्दै सरकारले पहिल्यै सावधानी आउनुपर्ने बताए ।समाजवादी पार्टीकी सांसद रेणुकुमारी यादवले कोरोना संक्रमण फैलिए सरसफाइको व्यवस्था नरहेको संसद्मै जोखिम हुने बताइन् । उनले पूर्व तयारी गर्नुपर्नेमा नेपालमा भाषण मात्र भइरहेको बताइन् ।’अरु देश पूर्वतयारीमा लागेका छन्। हाम्रो देशमा भने भाषण र विज्ञापन मात्रै भइरहेका छन्,’ उनले भनिन्।

सांसद रामबहादुर विष्टले कोरोनाको त्रास फैलिएसँगै बजारमा मास्क, स्यानेटाइजर लगायतका सामग्रीमा कालोबजारी र मूल्यवृद्धि भएको भन्दै सरकार गम्भीर बन्नु पर्ने बताए ।संक्रमण देखिए आफैं क्वारेन्टाइनमा बस्नुपर्ने भनेर स्वास्थ्यमन्त्री भानुभक्त ढकालले दिएको अभिव्यक्तिले जनता अझ त्रसित भएकाले सरकारले जवाफ दिनुपर्ने कांग्रेस सचेतक पुष्पा भुषालले बताइन् ।

‘अमेरिकाले युरोपमा लण्डनबाहेकका फ्लाइटलाई रद्द गरिसकेको अवस्था छ, भारतले पनि आजसम्म बाहिर रहेका भारतीयहरु आउन पाउने भोलिदेखि आए क्वारेन्टाइन १४ दिन बस्नुपर्छ भनेर निर्णय गरिसकेको अवस्था छ सभामुख महोदय,’ उनले भनिन् ‘नेपालमा जनता कोरोनाभाइरसको त्रासबाट आक्रान्त छन् तर स्वास्थ्यमन्त्रीले सरकार अहिले तयारीमा छैन आफैं आफ्नो स्वास्थ्यको ख्याल गर्नुपर्छ क्वारेन्टाइनमा आफैं बस्नुपर्छ भन्ने सन्देश बाहिर प्रवाह गरेर जनतालाई अझै बढि त्रसित दिएको उनले बताइन् ।

’संसद् भवनमै असुरक्षित’

उनले वाणिज्य मन्त्रीले कुनै कुराको अभाव हुने भएमा आफूलाई भन्नु भनेको भए पनि ’कुन जनताको मन्त्रीसम्म पहुँच हुन्छ?’ भन्ने प्रश्न गरिन्।सांसद् रेणुकुमारी यादवले संसद् भवनमा सांसदहरूनै सुरक्षित नभएको गुनासो गरिन्।

शून्य समयमा उनले भनिन्, “हामी यो सदनमा सुरक्षित छौँ कि छैनौँ? यो सदनमा जुन फोहर छ यस्को अर्थ छ कि छैन? साबुन पानीले हात धुनु भनेको छ यहाँ कहाँ हात धुने? विश्वभर सबैतिर तयारी गरिरहेका बेला हाम्रो सरकार विज्ञापन र भाषणमा मात्र निहित छ।“सत्ताधारी दलकै सांसद खगराज अधिकारीले कोरोनाभाइरसको कारण देखाउँदै कृत्रिम अभाव सिर्जना गरिएको बताए।

उनले भने, “यस्ता कालोबजारीहरूलाई र आपूर्तिमा बाधा गर्नेलाई कानुनले रोक्दैन सरकारले तुरुन्त कदम चालोस्। स्वास्थ्यकर्मीलाई आवश्यक तालिम र सुरक्षित कपडाको व्यवस्थापन गरियोस्।“

प्रतिक्रिया दिनुहोस्