नयाँ सिलिन्डर बिक्रीवितरण रोक्न आपूर्ति सचिवको उद्योगीहरुलाई आग्रह
काठमाडौं, २७ फागुन । बजारमा उपभोग्य बस्तुको अभाव भएको हल्ला चलिरहको बेला उद्योग वाणिज्य तथा आपूर्ति सचिव बैकुण्ठ अर्यालले खाना पकाउने ग्यासको नयाँ सिलिन्डर बिक्री नगर्न व्यवसायीहरुसँग आग्रह गरेका छन् । एकै परिवारले धेरै सिलिन्डर मौज्दातमा राख्न खोज्दा अभाव हुने देखिएको भन्दै सचिव अर्यालले नयाँ सिलिन्डर बिक्रीवितरण रोक्न उद्योगीहरुलाई आग्रह गरेका हुन् ।
मंगलबार नेपाल चेम्बर अफ कमर्शले आयोजना गरेको आपुर्ति व्यवस्थाको विद्यमान स्थितिबारे अन्तरक्रिया कार्यक्रममा बोल्दै यस्तो आग्रह गरेका हुन् । ‘यहाँ अभाव भएकै छैन, उपभोक्ताहरु त्यत्तिकै आत्तिनुभएको छ’ सचिव अर्यालले भने, ‘मौज्दात धेरै राख्ने सोचका कारण समस्या आएको छ, यो सबैले बुझ्नु परो ।’
उनले सञ्चारमाध्यममा आएका समाचारका कारण पनि हाहाकार भएको हो कि भन्ने सन्देश गएको बताए । ‘पत्रकारज्यूहरु सरकारले भनेको मात्रै त पत्याउनु हुन्न, अब उद्योगी व्यवसायीहरुले नै भन्नु भएकाले राम्रो भयो’ उनले भने, ‘पत्रकारहरु ठूलो हेडलाइनमा लेख्दा रमाइलो मान्नुहुन्छ, यसले पनि समस्या भएको छ ।’
उनले मास्कको अभाव भएको भने स्वीकार गरे । मास्क उत्पादन नै हुन नसक्दा यसको अभाव भएको र समस्या समाधानका लागि पहल भइरहेको बताए । अत्यावश्यक सामाग्रीहरु मौज्दात राख्ने परिपाटी छाडेर भाइरसको संक्रमणबाट जोडिन सबै सजग रहनु पर्ने बताए ।
।०००००००००००००००००
प्रधानमन्त्री पुरै सक्रिय हुन ६ महिना लाग्ने, तत्काल डिस्चाज नहुने
काठमाडौं, २७ फागुन । प्रधानमन्त्री केपी शर्मा ओली पुरै सक्रिय हुन ६ महिना लाग्ने चिकित्सकहरुले बताएका छन् ।
एक हप्ताअघि दोस्रपटक त्रिवि शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएका प्रधानमन्त्रीलाई पुरै सक्रिय हुन ६ महिना लाग्ने उनका निजी चिकित्सक डा. दिव्यासिंह शाहले जानकारी गराएका छन् ।
‘प्रधानमन्त्रीलाई भीडभाडमा जान सल्लाह दिँदैनौं, पुरै सक्रिय भएर अरु सरह हिँडडुल गर्न ६ महिना लाग्न सक्छ, तर नियमित काम गर्न समस्या हुन्न’ उनले भनिन् ‘संक्रमणबाट जोगिन केही दूरीमा बस्नुपर्छ ।’
प्रधानमन्त्रीको स्वास्थ्यबारे जानकारी दिन मंगलबार अस्पतालमा आयोजित पत्रकार सम्मेलनमा निजी चिकित्सक डा. दिव्यासिंह शाहले प्रधानमन्त्रीलाई अस्पताल राख्न परिवारकै सदस्यबाट आग्रह आएको बताइन ।
‘प्रधानमन्त्रीकै परिवारबाट एक दुई दिन अस्पतालमा राख्न आग्रह आएको छ, उहाँहरुले तयारीको समय पनि माग्नु भयो, प्रधानमन्त्री त तुरुन्तै जान चाहनुहुन्छ’ उनले भनिन् । डा. शाहले प्रधानमन्त्रीको स्वास्थ्यबारे आफूहरु विश्वस्त नभएसम्म अस्पतालबाट डिस्चार्ज नगर्ने पनि बताइन् ।
‘जबसम्म हामी विश्वस्त हुदैनौं तबसम्म डिच्चार्ज गर्दैनौं, प्रधानमन्त्रीको स्वास्थ्यमा राम्रो सुधार छ, चाँडै डिस्चार्ज हुने अवस्था आउने देख्छु’ उनले भनिन् । डा. शाहका अनुसार तत्काल डिस्चाज नहुने भएको छ ।















प्रतिक्रिया दिनुहोस्