बंगलादेशमा पनि देखियो कोरोना भाइरस, तीन जना संक्रमित अस्पताल भर्ना

काठमाडौं, फागुन २५ । बंगलादेशमा तीन जनामा कोरोना भाइरसको संक्रमण देखा परेको छ । बंगलादेशबाट प्रकाशित हुने द डेली स्टारको अनलाइन सँस्करणले जनाएअनुसार संक्रमित सबैलाई त्यहाँको कुर्मितोला अस्पतालमा भर्ना गरिएको छ ।

संक्रमितमध्ये दुई जना एकै परिवारको रहेको र उनीहरु इटालीबाट फर्केको जनाइएको छ । यसअघि भने बंगलादेशमा कोरोना भाइरसको संक्रमण देखा परेको थिएन ।गत वर्षको अन्त्यबाट चीनको वुहान शहरबाट शुरु भएको कोरोना भाइरसको प्रकोप हालसम्म एक सय भन्दा धेरै मुलुकमा फैलिसकेको छ । कोरोनाका कारण इटालीले १ करोड ६० लाख मानिसहरुलाई क्वारेन्टाइनमा बस्न आह्वान गरेको छ ।

हालसम्म कोरोना भाइरसका कारण विश्वभर ३६ सय जनाको ज्यान गइसकेको छ भने अरु एक लाख भन्दा धेरै संक्रमित छन् । यता नेपालमा बिरामीहरु अस्पताल भर्ना भएपनि संक्रमण भने कसैमा नभेटिएको अस्पतालले जनाउँदै आएको छ । नेपालमा अहिले सम्म कोरोनाको संक्रमण कसैमा पनि भेटिएको छैन । यसको संक्रमण फैलीन नदिन सरकारले खुल्ला सिमानाकामा कडाइ भने गर्नु पर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस्