साल्ट ट्रेडिङको दाबि – १० महिनालाई पुग्ने नुन स्टक छ
काठमाडौं , फागुन २५ । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले करिब १० महिनासम्म देशको माग धान्न सक्ने गरी नुन लगायतका अत्यावश्यकीय वस्तुको भण्डारण रहेको दाबि गरेको छ । बजारमा नून र चिनीको अभाव हुन लागेको हल्ला आधारहिन भएको बताएको छ ।
कर्पोरेसनले देशभरका उपभोक्तालाई आवश्यक पर्ने १० महिनासम्मको लागि नून व्यवस्था गर्न सक्ने बताएको छ भने चिनीको आपूर्तिमा पनि कुनै अभाव नहुने उसले जनाएको छ ।कोरोना भाइरसको त्राससँगै उपभोग्य वस्तुको अभाव हुन सक्ने चिन्ता बढिरहेका बेला साल्ट ट्रेडिङले विज्ञप्तिमार्फत उपभोक्तालाई निश्चिन्त रहन आग्रह गरेको हो ।
बजारमा नुन, चिनीलगायत दैनिक उपभोग्य वस्तुको कृत्रिम अभाव सिर्जना गरेर कालोबजारी हुन थालेको विषयमा ध्यानाकर्षण भएको कर्पोरेसनकी सीईओ उर्मिला श्रेष्ठले बताइन् । उनका अनुसार कर्पोरेशनसँग एक लाख ५८ हजार ५ सय मेट्रिक टन नुन मौज्दात रहेको छ ।‘नेपालको १० महिनाको माग धान्ने नुन कर्पोरेशनसँग मौज्दात छ,’ उनले भनिन्, ‘अहिले नुनको कुनै अभाव छैन ।’
नेपाली बजारमा मासिक १६ हजार मेट्रिक टन नुन खपत हुँदै आएको छ । नुनको आयातमा कुनै व्यवधान नभएको पनि सिईओ श्रेष्ठले जानकारी दिएकी छिन् ।यसैगरी कर्पोरेशनका विभागिय प्रबन्धक ब्रजेश कुमार झाले चिनीको पनि पर्याप्त मौज्दात रहेको जानकारी दिएका छन् ।
हाल २ हजार ५ सय मेट्रिक टन चिनी गोदाममा रहेको र ७ हजार ५ सय मेट्रिक टन चिनी आयातका क्रममा स्थलमार्गमा रहेको झाले बताए । कर्पोरेशन लगायतसँग करिब पाँच महिनालाई पुग्ने चिनी मौज्दात रहेको उनको भनाइ छ ।चिनीको हाहाकार छ वा हुन्छ भनेर चिन्तित हुनुपर्ने अवस्था नरहेको स्पस्ट पार्दै झाले अनावश्यक भण्डारण नगर्न उपभोक्तालाई आग्रह गरे । कर्पोरेशनले नुन, चिनी, एल पी ग्यास, चामल, तेल, आटा, मैदा, दाल लगायतका उपभोग्य वस्तुको बिक्री वितरण गर्दै आएको छ ।
एक सुचना जारी गर्दै ‘साल्ट ट्रेडिङसँग १० महिनाभन्दा बढि आपूर्ति व्यवस्था मिलाउने गरी नूनको बफर स्टक मौज्दात’ रहेको जनाएको हो । ‘विगतमा नेपालमा भएको अघोषित नाकाबन्दी, विनाशकारी भूकम्प लगायतका समयहरुमा नेपालमा सहज, सरल र सुपथ मूल्यमा कहिँ कतै कुनै अभाव नहुने गरी योडिनयुक्त नूनको आपुर्ति व्यवस्था मिलाउँदै आएको व्यहोरा सर्व्िवदितै छ,’ कर्पोरेसनले विज्ञप्ति मार्फत भनेको छ । यता बजारमा कोरोनाको त्राससँगै कालो बजारी सुरु भइसकेको छ ।















प्रतिक्रिया दिनुहोस्