टेकु अस्पतालको आइसोलेसन वार्ड भरियो, अब पाटन अस्पताल पठाउने तयारी

काठमाडौं , फागुन २५ । विश्‍वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड(१९)का शंकास्पद बिरामीका कारण टेकु अस्पतालको आइसोलेसन वार्ड भरिएको छ । विदेशबाट आउने शंकास्पद बिरामी बढ्न थालेपछि टेकुको आइसोलेसन वार्ड भरिएको हो ।

त्रिभुवन विमानस्थल हेल्थ डेक्सका अनुसार केही दिनयता दैनिक दुईदेखि तीनजना शंकास्पद बिरामीलाई टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा रिफर गर्ने गरिएको छ । टेकु अस्पतालको कोरोना भाइरसको शंकास्पद बिरामीका लागि उपचार गर्न बनाइएका पाँचवटा आइसोलेसन वार्ड भरिएका छन् । अब विमानस्थलमा भेटिने शंकास्पद बिरामीलाई पाटन अस्पतालमा पठाउने तयारी भएको विमानस्थल हेल्थ डेक्स स्रोतले जनाएको छ ।

‘टेकुमा भएको आइसोलेसन वार्ड पूरै भरिएको भन्‍ने हामीलाई खबर आएको छ’, स्रोतले भन्यो, ‘अब आउने शंकास्पद बिरामीलाई हामीले पाटन अस्पताल पठाउने तयारी गरेका छौँ ।’

कोरोना भाइरसको जोखिम बढ्दै गएपछि विमानस्थ हेल्थ डेक्समा यात्रुको निगरानी कडा बनाइएको छ । हाल चार नर्स, पाँचजना प्यारामेडिक्स र ११ जना डाक्टरले दुई सिफ्टमा २४ घण्टा विभिन्‍न मुलुकबाट आउने यात्रुको परीक्षण गरिरहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्