डोल्पामा फैलिएको रोग कोरोना नभइ मौसमी रुघाखोकी भएको पुष्टि

काठमाडौं, फागुन २४ । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका(१ मा पर्ने करेलीकाँडा गाउँमा फैलिएको अज्ञात रोग मौसमी रुघाखोकी भएको पुष्टि भएको छ ।

तीन दिनअघि हेलिकप्टरबाट सुर्खेत लगिएको तीन जना बिरामीको नमूना काठमाण्डौ पठाएर टेकु अस्पतालमा परीक्षण गराउँदा शुक्रबार बेलुकी मात्रै रोगको पुष्टि भएको हो । गाउँ नै थला पार्ने गरी दुई सातादेखि फैलिएको उक्त रोग कोरोना नभइ मौसमी रुघाखोकी भएको जिल्ला अस्पतालका डा मेलिना हमालले जानकारी दिनुभयो ।

‘शुक्रबार साँझ मात्रै टेकुबाट ल्याब परीक्षणको प्रतिवेदन आयो, प्रतिवेदनमा अरु बेला लाग्नेजस्तै मौसमी रुघाखोकी भएको पुष्टि भएको छ’, डा हमालले भन्नुभयो ।

‘सरसफाइमा ध्यान नदिँदा एकपछि अर्को गर्दै गाउँभरि नै रोग फैलिएको हो, त्यतिमात्र नभइ रुघाखोकी लाग्दा सही तरिकाले मास्कको प्रयोग नगर्ने, पानी नउमालेर नखाने, जहाँ पायो त्यही फोहर गर्ने, हात नधोएरै खाना पकाउने जस्ता कुरामा ध्यान नदिँदा रोग फैलिएको पायौँ ’ उहाँले भन्नुभयो ।

अन्तिम दिनमा सबै स्थानीयलाई भेला गरेर सरसफाइ कसरी गर्ने, सामान्य रुघाखोकी, झाडापखाला लाग्दा कसरी बच्नेलगायतका स्वास्थ्यसम्बन्धी धेरै कुरा सिकाएको डा हमालले बताउनुभयो ।

पाँच जना स्वास्थ्यकर्मीले लेखनाथ आधारभूत विद्यालयमा क्याम्प नै खडा गरेर नियमित उपचार सुरु गरेपछि अहिले बिरामीको अवस्था सामान्य भएको छ ।

बिरामी स्वस्थ भएर पनि पहिलाको जस्तै सामान्य अवस्थामा फर्किसकेका छन् । दैनिक औषधि खाएपछि आफूहरु पहिलाको जस्तै स्वस्थ भएको एक सातादेखि थला परेका स्थानीय बुजबहादुर बोहोराले बताउनुभयो ।

आफूहरु सञ्चो भएर पहिलाको जस्तै खेतीपातीको काममा जुटेको उहाँले बताउनुभयो । दुई सातादेखि थला परेका रुघाखोकी, ज्वरो र पखालाका १५० जनाको नियमित उपचार गरेपछि बिरामी सामान्य अवस्थामा फर्केको र नियमित काममा फर्किएको हमालले बताउनुभयो ।

गाउँदेखि स्वास्थ्य चौकी डेड घण्टा टाढा भएकाले त्यहाँको स्वयंसेविकालाई तालीम दिएर औषधिको जिम्मा दिनुपर्ने स्वास्थ्यकर्मीले बताएका छन् ।

जिल्लाको विकट गाउँमा मौसमी रुघाखोकीले गाउँ नै थला परेको अवस्थामा यथाशीघ्र उपचारका लागि राज्यले ठूलो सहयोग गरेको स्थानीयवासीले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्