कोरोनाबारे गृहले भन्यो- हल्ला र प्रचारबाजीको पछाडि नलाग्नु होला

काठमाडौं, फागुन २४ । विश्वभर कोरोनाभाइरसको संक्रमण फैलिरहँदा नेपालमा पनि यसबारे सचेत रहन आग्रह गरिएको छ।

विश्व स्वास्थ्य संगठनले नेपाललाई पनि उच्च जोखिम देशको सूचीमा दर्ज गरेको छ। यसै सन्दर्भमा गृह मन्त्रालयले कोरोनाभाइरसबारे उत्पन्न गरिएका विभिन्न प्रकारका हल्ला र प्रचारबाजीमा नलाग्न आग्रह गरेको छ।

शनिबार गृह मन्त्रालयले सूचना जारी गरेर कोरोनाबारे भ्रमपूर्ण समाचारको पछि नलाग्न सचेत गराएको छ।

‘हालमा नेपालमा कोभिड(१९ संक्रमण भएका व्यक्तिहरू पत्ता लागेको छैन र यसको प्रसार समुदायमा भएको अवस्था पनि छैन। यस सम्बन्धमा उत्पन्न गरिएका विभिन्न प्रकारका हल्ला र प्रचारबाजीका पछाडि नलागौं’, गृहले जारी गरेको सूचनामा भनिएको छ।

कोरोनाबारे अनावश्यक भ्रम फैलाएर उपभोग्य वस्तु कालो बजारी नगर्न गृहको सुझाव छ। यदि कहीँकतै त्यस्तो भेटिए सम्बन्धित निकायमा खबर गर्न समेत गृहल भनेको छ।

साथै, बढी भीडभाड हुने स्थानमा नजान गृहले सुझाएको छ।

प्रतिक्रिया दिनुहोस्