मुगुका सीमा नाकामा ‘हेल्थ डेस्क’ राखिने
काठमाडौं, फागुन २४ । छिमेकी देश चीनबाट शुरु भएको कोरोनाभाइरसको संक्रमणबाट जोगिन मुगुका सीमा नाकामा ‘हेल्थ डेक्स’ राखिने भएको छ ।
शुक्रबार बसेको जिल्लाका सरोकारवाला निकायको बैठकले गरेको निर्णयअनुसार छिमेकी देश चीनसँगै सीमा जोडिएका सीमा नाका नाक्चालाग्ना लगायतका प्रमुख प्रवेशद्वारमा ‘हेल्थ डेक्स’ राखिने निर्णय गरिएको छ ।
मुगुमा कोराना भाइरसको सङ्क्रमण हुन नदिन र भई हाले तत्काल स्वास्थ्य संस्थामा जान सल्लाह दिने गरी हेल्थ डेक्स राखी जाँच गरिने भएको हो ।
हुम्लाबाट भित्रिने जिल्लाको सीमाना छायाँनाथ रारा नगरपालिका–१२ बामगाउँमा, जुम्लाबाट भित्रिने नाका छायाँनाथ रारा नगरपालीका–७ पिनागाउँमा, हवाई यातायातबाट भित्रिने रारा विमानस्थल ताल्चमा, बाजुराबाट भित्रिने खत्याड गाउँपालिकाको झुगालामा र चीनको सिमाना नजिकपर्ने गाउँ मुगुमा हेल्थ डेस्कको स्थापना गरी जाँच गरिने निर्णय गरिएको जिल्ला समन्वय समितिका प्रमुख पूर्णबहादुर रोकायाले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्