‘ ६ महिनालाई पुग्ने खाद्यान्न र अत्यावश्यक वस्तुको पर्याप्त स्टक छ, आत्तिनु पर्दैन’
काठमाडौं , फागुन २३ । कोरोनाको त्रास फैलिएको र खाद्यान्न लगायत दैनिक उपभोग्य वस्तुको अभाव हुने चर्चा चलिरहेको अवस्थामा सरकारले पर्याप्त मात्रामा खाद्यान्न रहेकाले अहिले नै आत्तिनुपर्ने अवस्था नरहेको बताएको छ ।
शुक्रबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले विशेष पत्रकार सम्मेलनको आयोजना गर्दै नेपालमा पर्याप्त खाद्यान्न स्टक रहेकाले आत्तिनु पर्ने अवस्था नआएको औंल्याएको हो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले पत्रकार सम्मेलनमा बोल्दै नेपाल दुई ठूला जनसंख्या भएका देशका बीचमा रहेकाले सबैलाई सर्तकता अपनाउन आग्रह गरे ।
“हामी आतंकित हुने होइन, सतर्कता अपनाउने र सचेतना फैलाउनु पर्ने बेला हो,” उनले भने, “नेपालसँग खाद्यान्न ६ महिना, नुन १० महिना र ग्याँस १ महिनाका लागि पुग्ने स्टक छ ।” उनले नेपालका लागि उत्तरभन्दा दक्षिणबाट उच्च जोखिम रहेको समेत बताए ।
त्यस्तै, मन्त्रालयले पेट्रोलियम पदार्थ, नुन, चिनी चामल लगायत खाद्यन्न आपूर्तिमा समस्या नरहेको जनाएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लि सँग हाल २५ हजार ६६९ मेट्रिक टन चामल मौज्दात रहेको मन्त्रालयको भनाई छ ।
उनले खाद्यन्न ६ महिना, नुन १० महिना र ग्यास १ महिनालाई पुग्ने स्टक रहेको भन्दै उपभोक्तालाई नआत्तिन आग्रह गरेका छन् । कोरोना त्रासपछि बजार भाउको मूल्य बृद्धि भएको भन्ने जनगुनासो बढिरहेका बेला मनत्री भट्टले स्याउ र लसुनमा बाहेक मूल्य नबढेको प्रस्ट पारेका छन् ।
यस्तै २६ वटा औषधीको निर्यातमा भारत सरकारले रोक लगाएको विषयमा दुई देशबीच सचिवस्तरीय छलफल भएको उनले बताए । उनले भारतले अत्यावश्यक औषधी रोकतोक नगर्ने विश्वास दिलाएको बताए ।यसका साथै भारतले अत्यावश्यक वस्तु नरोक्ने समेत प्रतिबद्धता जनाएको बताए । भारतले चीनबाट कच्चा सामग्री आउने भएकाले सम्भावित अभाव आँकलन गरेर रोकेको मन्त्री भट्टको भनाइ छ । यसमा नेपालले पहल गरिसकेकाले समस्या नआउने उनले बताए ।
त्यस्तै पत्रकार सम्मलेनमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव चन्द्रकुमार घिमिरेले बजारमा मास्क र स्यान्टेलाइजर कम भएको बताएका छन् । मास्क र स्यान्टेलाइजर केही कम भएको अनुभव हामीले गरेका छौं,” उनले भने, “केही दिनदेखि आपूर्ति स्थिति कस्तो छ भन्ने विषयमा सरोकारवाला निकायसँग मन्त्रालयले छलफल गरिरहेको छ ।”मास्क अभाव नबनाउन र बजारलाई सहज बनाउन स्टक मेन्टेन गर्ने पहल गरेको पनि उनले बताउँदै उनले उपभोक्तालाई अनावश्यक स्टक नगर्न समेत आग्रह गरे ।
यता उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयले कोरोना भाइरसका कारण अत्याधिक माग बढेको र सर्वसाधारणले माक्स र सेनेटाइजर मौजाद राख्दा अभाव सिर्जना भएको दावी गरेको छ । त्यस्तै, उक्त मन्त्रालयले माक्स र सेनेटाइजरको आपूर्ति बढाइ सहज र सरल बनाउन भन्सार महसुल छुटका लागि अर्थ मन्त्रालयसँग अनुरोध पनि गर्ने भएको छ । कोरोनाको असरले अहिले व्यापारीले कालोबजारी गर्न सुरु गरिसकेका छन् । यसको अनुगमन तिब्र गर्ने सरकारले आजमात्रै निर्णय पनि गरेको छ ।














प्रतिक्रिया दिनुहोस्