वसन्तपुरमा ठड्याइयो चीर, भयो होली पर्व सुरु

काठमाडौं, २० फागुन । फागु पूर्णिमा आर्थत होली पर्व सुरु भएको जनाउ दिन काठमाडौंको वसन्तपुरमा चीर ठड्याइएको छ । मंगलबार बिहान ७ बजेर ५७ मिनेटको साइतमा विधिपूर्वक चीर ठड्याइएको हो ।

वसन्तपुरमा चीर ठड्याएपछि काठमाडौं उपत्यकासहित देशभर होली पर्व सुरु भएको मानिन्छ । वसन्तपुरमा चीर ठड्याइसकेपछि हर्ष बढाइँ गरिएको थियो । साथै सहभागीहरुबीच रंगीबिरंगी अबिर दलेर खुसीयाली मनाइएको छ ।

फागुन शुक्ल अष्टमीदेखि फागुन शुक्ल पूर्णिमासम्म होली पर्व मनाउने गरिन्छ । यस वर्ष होलीको मुख्य दिन काठमाडौंलगायत पहाडी जिल्लाहरुमा फागुन २६ गते र तराई मधेसका जिल्लाहरुमा फागुन २७ गते सार्वजनिक विदा दिइएको छ ।

रंगीचंगी कपडाहरु बाँधिएको तीन तले चीर फागुन शुक्ल पूर्णिमाको राति टुँडिखेलमा लगेर जलाएपछि होली पर्व सकिने परम्परा छ ।

प्रतिक्रिया दिनुहोस्