कोरोना भाइरसको प्रभाव, पर्यटन वर्ष स्थगित देखि ‘सगरमाथा संवाद ’ सम्म

काठमाण्डौ, १९ फागुन । कोभिड १९ अर्थात कोरोना भाइरसको जोखिम बढ्दै गएपछि घोषित तथा अघोषित कार्यक्रमहरुलाई प्रभाव परेको छ ।
भ्रमण वर्ष स्थगितः
प्रधानमन्त्रीले भ्रमण वर्ष अहिलेलाई स्थगित गरेर पछि सार्ने प्रस्ताव गर्नुभएकाले केही दिनभित्रै यसबारे निर्णय गर्ने तयारी छ । यसबारे पर्यटन मन्त्रालयले विश्लेषण गरेर आवश्यक निर्णय लिने भएको छ ।
‘सगरमाथा संवाद’ पनि स्थगित गर्ने तयारी

सरकारले पहिलोपटक अन्तर्राष्ट्रिय रूपमा आयोजना गर्न लागेको कूटनीतिक छलफल ‘सगरमाथा संवाद’ पनि स्थगित गर्ने तयारी गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सगरमाथा संवाद स्थगित गर्नेबारे छलफल भएको हो ।

परराष्ट्र मन्त्रालयको आयोजनामा आउँदो चैत २० देखि २२ सम्म सगरमाथा संवाद गर्ने तयारी थियो । यो कार्यक्रममा करिब १ सय ५० विदेशीसहित २ सय ५० प्रतिनिधि सहभागी हुने बताइएको थियो । आइतबारको मन्त्रिपरिषद् बैठकमा अहिलेलाई अरु अन्तर्राष्ट्रिय कार्यक्रम पनि नगर्नेबारे कुरा भएको छ ।

शनिबार मात्रै सरकारले भ्रमण वर्षको क्रममा विदेशमा हुने प्रवद्र्धनात्मक कार्यक्रमहरु स्थगित गर्ने घोषणा गरेको थियो । कोरोनाबाट उच्च सतर्कता अपनाउन उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा उच्चस्तरीय समिति पनि गठन भएको थियो ।

ठूला सभा, सम्मेलन र भोजभतेर नगर्न आह्वान:

सरकारले ठूला सभा, सम्मेलन र भोजभतेर नगर्न सबैसँग आह्वान गरेको छ । आइतबार स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले पत्रकार सम्मेलन गरी कोरोना भाइरसको जोखिम बढेको भन्दै धेरै मानिस भेला हुने कार्यक्रम नगर्न अनुरोध गर्नुभएको हो ।

मन्त्री ढकालले कोरोना भाइरसको संक्रमण रोक्न सरकारले तीन चरणको तयारी गरेको बताउनुभयो ।

अन्तर्राष्ट्रिय उडान कटौतीको तयारी:

सरकारले कोरोना संक्रमित देशबाट आउने विमान र यात्रुलाई रोक्ने तयारी पनि गरेको छ । चीन, जापान, दक्षिण कोरिया, हङकङ, इरानबाट आउने यात्रुहरुलाई रोक्ने सरकारको तयारी छ ।

आइतबारदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुको स्वास्थ्य जाँच पनि थालिएको छ । आइतबार पत्रकार सम्मेलनमा स्वास्थ्यमन्त्री ढकालले भन्नुभयो, ‘छिमेकी देशमाहरुमा अन्तर्राष्ट्रिय उडान कटौती गर्न थालिएको छ । हामीले पनि केही देशसँगको उडान तत्काल कटौती गर्ने विषयमा छलफल गरिरहेका छौं ।’

विमानस्थलमा स्वास्थ्य जाँच:

कोरोना भाइरस संक्रमणको जोखिमलाई ध्यानमा राख्दै आइतबारदेखि त्रिभुवन विमानस्थल भएर आवतजावत गर्ने सबैको स्वास्थ्य जाँच सुरु गरिएको छ । विदेशबाट आउने पर्यटक, नेपाली तथा तेस्रो देश जाने ट्रान्जिटका यात्रु सबैले स्वास्थ्य जाँच गर्नुपर्ने व्यवस्था गरिएको हो ।

त्यस्तै जहाज काठमाण्डौ अवतरणका क्रममा अनबोर्डमा रहेका यात्रु तथा आगमन र प्रस्थान कक्षमा अंग्रेजी, चिनियाँ र नेपाली भाषामा जानकारीमूलक सूचना प्रवाह सुरु गरिएको छ । आइतबारदेखि नै विमानस्थलमा यात्रुको शरीरको तापक्रम जाँच्ने ‘थर्मल स्क्यानर’ बाहेक ‘लिक्विड स्यानीटाइजर एजेन्ट स्प्रे’ पनि प्रयोगमा ल्याइएको छ ।

सातै प्रदेशमा स्वास्थ्य टोली:

सरकारले कोरोना सङ्क्रमणको रोक्न सातै प्रदेशमा आवश्यक सामग्रीसहित प्रदेश सरकारसँग समन्वय गरी त्यहाँ रहेका नाकाहरुमा आवश्यक निगरानीको व्यवस्था मिलाउन स्वास्थ्य टोली परिचालन गरेको छ ।

विश्वमा हाल फैलिएको कोरोना सङ्क्रमणको रोकथाम, शीघ्र पहिचान, निगरानी तथा व्यवस्थापन गर्न सहज हुने उद्देश्यले विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार प्रोटोकल तथा कार्ययोजना तयार गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यसैगरी कोरोना सङ्क्रमणको रोक्न तातोपानी र रसुवागढी नाकामा चिकित्सक खटाइएको छ भने कोरोना व्यवस्थापनका लागि आवश्यक सामग्रीको मौज्दात थप गरिएको स्वास्थ्यमन्त्री भानुभक्त ढकालले बताउनुभयो ।

काठमाण्डौ उपत्यकाका सबै अस्पतालसँग विभिन्न चरणमा पूर्व तयारीका लागि बैठक तथा छलफल गरिएको पनि उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्