प्रधानमन्त्रीलाई नातिनीले दिने भइन् मिर्गौला

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रो पटक मिर्गौला प्रत्यारोपण गर्नका लागि उनकी नातिनीले मिर्गौला दिने भएकी छन् । नातिनीसँग ‘म्याच’ भएपछि उनले मिर्गौला दिने भएकी हुन् । नातिनीको मिर्गौलासँग म्याच गरेपछि उनी तयार भएकी त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल स्रोतले जनाएको छ । अन्ततः ओलीलाई मिर्गौला दिनका लागि धेरैले इच्छा जाहेर गरे पनि नातिनीसँग म्याच भएको हो ।

प्रधानमन्त्री ओलीका नजिकका आफन्ततर्फकी नातिनीको नाम गोप्य राखिएको छ । उनी पहिलेदेखिनै प्रधानमन्त्री ओलीको सान्निध्यमा रहेकी थिइन् । यसअघि पहिलो पटक मिर्गौला प्रत्यारोपण गर्दा बुहारी अन्जनासँग म्याच भएको थियो ।

ओलीको पहिलो मिर्गौला प्रत्यारोपण १३ वर्षअघि दिल्लीमा भएको थियो । दोस्रो प्रत्यारोपण भने देशभित्रै शिक्षण अस्पतालमा गर्ने चाहना प्रधानमन्त्रीले राखेका हुन् ।मिर्गौला प्रत्यारोपणका लागि अमेरिका लैजाने हल्ला समेत चलेका बेला प्रधानमन्त्रीले भने देशभित्रै उपचार गराउन चाहेको बालुवाटार स्रोतले जनाएको छ । बुधबार प्रधानमन्त्री ओली को मिर्गौलाको प्रत्यारोपण हुने भएको छ भने भोली अस्पताल भर्ना हुने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्