कोरोना भाइरसबाट इरानमा २१० को मृत्यु

काठमाडौं, फागुन १७ । इरानमा कोरोना भाइरसको सङ्क्रमणबाट कम्तीमा २१० जनाको मृत्यु भएको स्वास्थ्य अधिकारीहरुले बताएका छन् ।

अधिकांश पीडितहरू राजधानी तेहरानका र शुरूमा भाइरस देखिएको कुम सहरका रहेका बताइएको छ । स्वास्थ्य मन्त्रालयले शुक्रवार सार्वजनिक गरेको सङ्ख्या भन्दा यो छ गुणा बढी भएको बताइएको छ ।
शुुक्रबार सरकारी अधिकारीहरुले यस कोरोना भाइरसबाट ३४ जनाको मृत्यु भएको जानकारी दिएका थिए ।
हालसम्म विश्वमा ८३,००० भन्दा बढी कोभिड १९ का सङ्क्रमणका घटना प्रमाणित भएका छन् । इरानी अधिकारीहरूले कोभिड १९ नियन्त्रणका लागि मानिसहरूलाई घरभित्रै बस्न, अन्तरक्रिया र आवतजावत नियन्त्रण गर्न, भेलाहरूमा सहभागी नहुन र व्यक्तिगत रूपमा अपनाउनुपर्ने सावधानीका उपाय अपनाउन सुझाव दिइरहेका छन् ।शनिवारबाट देशभरका विद्यालयहरूमा कम्तीमा तीन दिन बिदा दिने निर्णय गरिएको छ ।

तेहरानको नगर परिषद्का एक अधिकारीले कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या केही हप्तामा १० देखि १५ हजार पुग्ने बताएका छन् । अहिले विश्वभर यो भाइरस बढ्दो क्रममै रहेको छ ।

प्रतिक्रिया दिनुहोस्