प्रहरीको दादागिरि: बच्चा बोकेकी महिलामाथि लाठीचार्ज, चर्काे आलोचनापछि छानविन सुरु

काठमाडौं , फागुन १६ । नागरिक र प्रहरीबीचको दूरी हटाउन प्रहरीले ‘प्रहरी मेरो साथी’ अभियान चलाइरहेको छ । प्रहरीले नागरिकको विश्वास जित्नका लागि यस्तो अभियान चलाइरहेका बेला प्रहरीबाटै हुने एकाध व्यवहार र कार्यशैलीले उसकै अभियानलाई ‘खिल्ली’ उडाइरहेको भान दिन्छ ।

शुक्रबार ललितपुरको भैंसेपाटीमा प्रहरीका एक उच्च अधिकारीले एक बच्चा बोकेकी महिलामाथि गरेको ज्यादतीले प्रहरीको ‘प्रहरी मेरो साथी’ नाराकै धज्जी उडाएको छ ।
सामाजिक सञ्जालमा शुक्रबार बिहानैदेखि एउटा भिडियो भाइरल भइरहेको छ । केहीले भिडियोबाट लिइएका फोटोहरु सार्वजनिक गर्दै नेपाल प्रहरीलाई गाली गरिरहेका छन् भने कतिपयले भिडियो शेयर गर्दै सम्बन्धित निकायलाई मेन्सन गरिरहेका छन् ।

भिडियोमा बच्चा लिएर अघि बढिरहेकी एक महिलालाई एक प्रहरी निरिक्षकले बलपूर्वक लौरोले कुटेको देखिन्छ । घटना बिहिबार दिउँसोको हो । घटनास्थल हो ललितपुरको भैंसेपाटी । यो घटना नेपाली सेनाका पूर्वजर्नेल हेम खत्रीको घरअगाडि भएको हो । पूर्वजर्नेल खत्रीसँग आफ्नो पुरानो सम्बन्ध रहेको भन्दै माला शाह नाम गरेकी एक महिलाले केही महिलालाई साथमा लिएर खत्रीको घर पुगेकी थिइन् । महिलाहरुको भिड देखेपछि खत्रीले प्रहरीले प्रहरीलाई खबर गरेका थिए । खबर पाएलगत्तै घटनास्थल पुगेका प्रहरी निरिक्षक देवीप्रसाद पौडेलले ती महिलामाथि बल प्रयोग गरेका हुन् । यसरी कुटाइ खाने महिला हुन् हेमा श्रेष्ठ ।

अहिले घटनाको सामाजिक सञ्जालमा चर्काे आलोचना भइरहेको छ । घटनास्थलमा महिला प्रहरी समेत पुगेको भएता पनि पुरुष प्रहरीले बल प्रयोग गरेको भन्दै अहिले विरोध भइरहेको छ । मुलुकी फौजदारी कार्य्बिधि संहिता २०७४ परिच्छेद २ मा कुनै महिलालाई पक्राउ गर्नु परेमा यथासम्भव महिला प्रहरीद्वारा पक्रन लगाउनुपर्ने व्यवस्था गरिएको छ ।

घटना बाहिरिएपछि प्रहरी निरीक्षक पौडेलमाथि प्रहरीले आन्तरिक छानविन सुरु गरेको छ । घटनाको छानविन गर्न ललितपुर प्रहरीले प्रहरी उपरीक्षक (एसपी) दुर्गा सिंहको नेतृत्वमा तीन सदस्यीय छानविन समिति बनाएको छ ।
मुलुकी फौजदारी कार्य्विधि संहिता २०७४ परिच्छेद २ मा कुनै महिलालाई पक्राउ गर्नुपरेमा यथासम्भव महिला प्रहरीद्वारा पक्रान लगाउनु पर्ने स्पष्ट व्यवस्था छ ।

‘पक्राउ गर्नुपर्ने अवस्थामा तत्काल महिला प्रहरीले उपलब्ध नभएमा निजको इज्जत वा प्रतिष्ठामा आँच नआउने गरी महिलाको शारिरीक संवेदनशीलताको सम्मान गर्दै पुरूष प्रहरी कर्मचारीले पक्राउ गर्न बाधा पर्ने छैन,’ संहितामा भनिएको छ । एसएसपी राईले भने महिलामाथि पौडेलले लाठी हानेको जानकारी आफूलाई नभएको तर, गल्ती भएको भए अवस्था बुझेर कारबाही गर्छु ।

प्रतिक्रिया दिनुहोस्