प्रतिनिधिसभा बैठक: विशेष समयमा कसले के भने ?

काठमाडौं, फागुन १५ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद जनार्दन शर्माले स्वेतपत्र जारी गरेर कसैलाई नतर्साउन चेतावनी दिएका छन् ।प्रतिनिधिसभाको विशेष समयमा बोल्दै शर्माले गलत तथ्यहरु राखेर स्वेतपत्रको नाममा कसैलाई नतर्साउन चेतावनी दिएका हुन् ।

शर्माले आफूले गृहमन्त्रीबाट २०७४ असोज ३० गते नै राजीनामा दिएको भएपनि २०७४ कात्र्तिक १३ गते भएको भनिएको निर्णयमा आफ्नो नाम जोडिएको प्रति आपत्ति जनाए ।२०७४ असोज ३० गते नै आफू गृहमन्त्रीको जिम्मेवारीबाट बाहिरिएको उल्लेख गर्दै उनले तर्साउन नाम जोडिएको हो ? वा मलाई आत्मसमर्पण गराउन खोजिएको हो ? भन्दै प्रश्न गरे । उनले आफूलाई तर्साउन खोजिएको भएपनि आफू असत्यको सामु नझुक्ने बताए ।

उनले भने, ‘यदि त्यसरी यहाँ मलाई तर्साउन खोजिएको हो भने म असत्यको अगाडि कहिले पनि तर्सिन्नँ । सरकारले मलाई ढाँट्न सक्ला तर जनता र मतदातालाई ढाँट्न सक्छ ? जनता र मतदातालाई ढाँट्ने सरकारले कहिले पनि काम गर्न सक्दैन । कसरी विश्वास गर्ने यहाँ विश्वासको संकट प¥यो । नभएको मान्छेको नाम लेखेर मिडियाबाजी गराउने काम किन गरियो ? मर्लाइ शंका उत्पन्न भयो । मलाई जवाफ चाहिन्छ विश्वासको संकट प¥यो ।’

आफूले सरकारका विरुद्धमा कुनै लगत कुरा नबोलेको भएपनि आफूलाई किन तर्साउन खोजियो भन्दै उनले प्रश्न गरे । ‘म अचम्ममा परे यो स्वेतपत्र हो की अस्वेत पत्र हो । मैले कुनै गलत कुरा त बोलेको छैन् तर राज्यव्यवस्था समिति हुँदा कुनै ऐनहरु आउँछन् जो ऐन संविधान भन्दा बाहिर आएर ऐनहरुलाई संशोधन गर्ने कुरामा बोल्छु । परिमार्जन गर्न म पनि लाग्ने गरेको छु । अर्को कुरा विकाश समृद्धिका लागि भ्रष्टाचार अन्त्य हुनुपर्छ । सरकार दलालको घेराबाट मुक्त हुनुपर्छ भनेर मैले भनिरहेको छु । जनताको विकास निर्माणको तिव्र चाहाना छ । सरकारले यसतर्फ जानुपर्छ भनेको छु । अरु केही गरेको छैन् ।’

उनले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले गरेका निर्णयहरुमा नाम उल्लेख नहुनु र त्यो भन्दा अगाडीको सरकारले गरेका निर्णयमा नाम लेखिनुले पनि आशंका उब्जाएको बताए ।

स्वेतपत्रमा देखिएका कुराहरुको विषयमा बुझ्नका लागि ट्रष्टको कार्यालयमा गएर निवेदन दिएपनि त्यहाँका कर्मचारीले कुनै कागजपत्र नै नदिएको उनले बताए । त्यहाँका कर्मचारीलाई आफू गृहमन्त्री हुँदा ट्रष्टको कार्यालयमा नै नआएको भएपनि आफ्नो नाम कसरी जोडियो भनेर सोध्दा कर्मचारीहरुले पनि ‘तपाईको पालामा कुनै निर्णय नै भएको थिएन’ भनेर भनेको शर्माले बताए ।

उनले भएको नाम नलेख्ने तर नभएको नाम लेख्ने भन्दै यसको जवाफ प्रधानमन्त्री र गृहमन्त्रीले दिनुपर्ने बताए । शर्माले ट्रष्टले लिजमा दिएका सबै सम्पत्ति फिर्ता गरेर नयाँ तरिकाले अगाडि बढुनपर्ने माग समेत गरेका छन् ।सांसद महिन्द्र राय यादवले हुलाकी राजमार्गका लागि केन्द्र सरकारबाट बजेट विनियोजन गरी काम सुरु नगरे आन्दोलनको चेतावनी दिए ।

सर्लाही क्षेत्रमा पर्ने ४० किलोमिटर सडक प्रदेश मातहत राखेका कारण केन्द्र सरकारले बजेट विनियोजन नगरेको र काम सुरु हुन नसकेको भन्र्दै उनले यस्तो चेतावनी दिएका हुन् ।तराई मधेशको लाइफ लाइनका रुपमा हुलाकी राजमार्गलाई लिइएको भएपनि त्यसको अनुभूति जनताले गर्न नपाएको उनले बताए ।
उनले चैत ११ सम्म राष्ट्रिय गौरबको आयोजनामा समेटेर काम सुरु नभए बैशाख १ गतेबाट हुलाकी राजमार्गमा जागरण अभियान सुरु गर्ने बताउनुभयो । यस्तै मानव सांङ्लो निकाल्ने, भारत नेपालबीच नागरिक संबाद रिले अनसन र आम हड्ताल गर्ने चेतावनी दिए ।

२०११ सालबाट राष्ट्रिय गौरबको आयोजनाका रुपमा निर्माण सुरु भएको भएपनि सरकारले कम बजेट विनियोजन गर्दाे वीरगञ्जदेखि नवलपरासीसम्म जोड्ने सडक अझै अधुरा रहेको बताए ।उनले नागरिकताको विषयलाई गम्भिर रुपमा लिन सरकारलाई आग्रह समेत गरे ।

सांसद दुर्गा पौडेलले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणको अडियो गम्भिर विषय भएकाले छानबिनको प्रकृया तत्काल अगाडी बढाउन आग्रह गरिन् । मन्त्री एक्लैले यति ठुलो काण्ड घटाउन नसक्ने उल्लेख गर्दै उनँले पर्दा पछाडि को को छन् पत्ता लगाएर कारवाहीको दायरमा ल्याउन पनि माग गरिन् ।

सांसद प्रेम सुवालले नेपाल ट्रष्ट अन्र्तगतका जग्गा र भवन कुन—कुन व्यक्तिको पालामा कसरी दिइएको हो त्यसको बारेमा प्रधानमन्त्री केपी शर्मा ओली र रक्षामन्त्री समेत रहेका ट्रष्टका अध्यक्ष इश्वर पोखरेलले संसदमा जवाफ दिनुपर्ने बताए ।

सांसद भिमसेन दास प्रधानले काठमाडौंको मुटुमा रहेको टुंडिखेलको सांस्कृतिक, धार्मिक, राजनीतिक महत्व भएपनि व्यवसायी र विभिन्न संघ संस्थाहरुले अतिक्रमण गरेको तर्फ सरकारको ध्यानाकर्षण गराए ।
उनले काठमाडौं भू टावर सम्झौता भएको ५ वर्ष वितिसक्दा पनि निर्माण सम्पन्न हुन सकेकोले टुंडिखेलमा बसपार्क, ब्यापार यौन व्यवसायको रुपमा विकसित हुँदै गएको तर्फ पनि सरकारको ध्यानाकर्षण गराए ।

प्रतिक्रिया दिनुहोस्