रविन्द्र अधिकारी स्मृति सभा: मन्त्री भट्टराईले भने -सम्भावना बोकेका एक असल नेता गुमायौं

काठमाडौं, फागुन १५ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले हेलिकप्टर दुर्घटनामा सम्भावना बोकेका एकजना असल नेता गुमाएको बताएका छन् । देशको राजनीतिक नेतृत्व गर्न सक्ने नेताको रुपमा उदाइरहेका तत्कालिन पर्यटन मन्त्री रवीन्द्र अधिकारी दुर्घटनामा गुमेको उनको भनाई छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विहिबार हेलिकप्टर दुर्घटनामा निधन भएकाहरुको सम्झनामा आयोजना गरेको प्रथम स्मृति सभामा आयोजित कार्यक्रमममा मन्त्री भट्टराईले गत १५ एउटा दुःखत दिनका रुपमा सम्झना गरे । उनले मन्त्री अधिकारीले नेपालको विद्यार्थी तथा शैक्षिक आन्दोलन, राजनीतिक परिवर्तनको आन्दोलन, संसदीय राजनीति र मन्त्रीको रुपमा महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए ।

भट्टराईलेले स्वा. अधिकारीसँग अनेक राजनीतिक उत्तरचढावहरुमा सँगै रहेको सम्झना गर्दे आफूले एक असल मित्र गुमाएको बताए । विद्यार्थी राजनीतिदेखि संबिधानसभा सदस्य, सांसद, संसदीय समितिको सभापति र मन्त्रीको जिम्मेवारीमा रहेर अधिकारीले सम्झनायोग्य कामहरु गरेको उनको भनाई छ । दुर्घटनामा निधन भएका पर्यटन व्यवसायी आङछिरिङ शेर्पा, कर्मचारी, सुरक्षाकर्मी र पाइलटको उनले सम्झना गरे ।

गत फागुन १५ मा ताप्लेजुङ्गमा भएको हेलिकप्टर दुर्घटनामा मन्त्री अधिकारी सहित यति एयरलाइन्सका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, नेपाल नागरिक उड्डयन प्राधिकरणका निर्देशक ध्रवु भोछिभोया, उपसचिव युवराज दाहाल, पाइलट क्याप्टेन प्रभाकर केसी र नेपाली सेनाका जमदार अर्जुनकुमार घिमिरेको निधन भएको थियो । मन्त्रालयले मन्त्री अधिकारी सहित दुर्घटनामा निधन भएकाहरुको सम्झनामा स्मृति सभाको आयोजना गरेको हो ।

यसैबीच मन्त्री भट्टराईले अधिकारीको सम्झनामा मन्त्रालयले ‘रविन्द्र अधिकारी स्मृति पर्यटन पुरस्कार’को पनि घोषणा गरे । पर्यटन क्षेत्रमा महत्वपूर्ण योगदान गर्ने व्यक्तित्वलाई हरेक वर्ष यो पुरस्कार दिइने उनको भनाई छ । यस वर्षको पुरस्कार स्व अधिकारीको जन्मदिन आगमी वैसाख २२ मा दिइने बताए । अन्य वर्षहरुमा भने १५ फागुन स्मृति दिवसमा दिइने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्