अबको शिक्षा प्रणालीमा ८० प्रतिशत प्राविधिक धार हुुनुपर्छः मुख्यमन्त्री पौडेल
काठमाडौं, फागुन १४ । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले अबको शिक्षा प्रणालीमा ८० प्रतिशत प्राविधिक धार हुुनु पर्ने बताएका छन् । नुवाकोटको विदुर नगरपालिका–१ स्थित त्रिभुवन त्रिशूली माविको नवनिर्मित भवन उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।
विसं २००७ चैत ९ गते स्थापित सो विद्यालय गोरखाभूकम्पबाट क्षतिग्रस्त भएको थियो । सोही अवसरमा मुख्यमन्त्री पौडेलले अबको नयाँ शिक्षालाई परिमार्जन गरी पढाउने हैन सिकाउने शिक्षाका रुपमा विकास गर्नुपर्नेमा जोड दिए ।
यस्तै कार्यक्रममा प्रतिनिधिसभा सदस्य बहादुरसिंह लामाले सरकारी विद्यालयलाई निजी विद्यालयभन्दा राम्रो पढाइ हुने गरी विकास गर्नुपर्ने बताए । वाग्मती प्रदेशसभा सदस्य केशव पाण्डेले हरेक विद्यालयमा शिक्षकको नै महत्वपूर्ण भूमिका हुने बताए ।
विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितले शिक्षाको परिभाषा गर्दा शिक्षित हुनु मात्र नभई प्रयोगात्मक शिक्षा पनि हुनुपर्ने बताए। साथै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नवीन्द्रमान प्रधानले विद्यालयमा नुवाकोट, रसुवा, धादिङ जिल्लाका विद्यार्थीका लागि महिला फिडर छात्रवाससमेत सञ्चालनमा रहेको बताए ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरण केन्द्रीय एकाइ (शिक्षा)को समन्वय तथा एशियाली विकास (एडिबी) बैंकको आर्थिक सहयोगमा रु ११ करोड ५३ लाखको लागतमा सो विद्यालयको भवन पुनःनिर्माण गरिएको हो ।
प्रतिक्रिया दिनुहोस्