सेनाभित्र हुने भ्रष्टाचारले छुट पाउँदैन, छानबिनको दायरामा ल्याइन्छः रक्षामन्त्री पोखरेल

काठमाडौं, फागुन १४ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले सैनिक मुख्यालय जङ्गी अड्डाभित्र हुने भ्रष्टाचार छानबिनको दायरामा आउने बताएका छन्।

रक्षा मन्त्रालयबाट विगत दुई वर्षमा सम्पादित कार्यहरूको प्रगति सार्वजनिकीकरण कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । नेपाली सेनामा जो कसैले पनि भ्रष्टाचार गरेमा कारबाहीको दायरा ल्याएर कारबाही गर्ने उनले बताए ।

“अहिले जुनसुकै पद, तह र तप्कामा बसेको मानिस भए पनि छुट पाउने अवस्था हुँदैन”, उनले भने, “सरकारले लिएको सुशासनको अभियानमा कसैले पनि गलत गरेमा दण्डित भएरै छाड्छन्।”
साथै उनले अर्को प्रसंगमा शान्ति सेनामा पठाउने सम्बन्धमा शान्ति सेना छनोट कार्य्विधि तयार पारिएको र त्यसै अनुसार हुने बताए।

“सोर्सफोर्स, सेनाका हाकिम, नेताहरूसँगको पहुँच चाहिन्छ भन्ने दिन गए”, उनले भने, “कार्य्विधिले तोके अनुसार योग्य मानिसमात्रै जान सक्छन बाँकी भ्रम कसैले राख्नु उचित हुँदैन।”उनले दुईवर्षे अवधिमा नेपाली सेनाभित्रको संस्थागत सुधार गर्न सकिएको प्रष्ट पारे।

सैनिक ऐन २०६३ मा नमिलेका विषयहरू आवश्यक संशोधन गरिएको जानकारी दिँदै रक्षामन्त्री पोखरेलले मन्त्रालय, नेपाली सेना मात्रै नभएर राष्ट्रलाई महत्वपूर्ण हुने राष्ट्रिय सुरक्षा नीति २०७३ परिमार्जन गरेर २०७५ पारित गरिएको बताए।पोखरेलले सेनाको सांगठनिक जीवनसँग गाँसिएको विभिन्न नियमावली पारित गरिएकोसमेत जानकारी दिए।

उपप्रधान तथा रक्षामन्त्री पोखरेलले संवैधानिक व्यवस्था अन्तर्गत् नै सेनालाई विकास निर्माणको जिम्मेवारी दिएको प्रष्ट पारे। उनले विभिन्न देशहरूसँग दुईपक्षीय सहयोग आदानप्रदानका कामहरूसमेत यो दुई वर्षमा भएको बताए। समय सेनामा पनि भ्रष्टाचार बढेको प्रकरण बाहिर आएको छ ।

प्रतिक्रिया दिनुहोस्