सरकारले सार्वजनिक गर्यो नेपाल ट्रष्टको नाममा रहेको सम्पत्ति: १२ जिल्लामा २२ हजार रोपनी जग्गा
काठमाडौं, फागुन १३ । नेपाल सरकारले नेपाल ट्रष्टको नाममा रहेको सम्पत्ति विवरण सार्वजनिक गरेको छ। नेपाल ट्रष्टका अध्यक्ष एवं उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले मंगलबार पत्रकारसम्मेलन गरी श्वेतपत्रमार्फत ट्रष्टको चल तथा अचल सम्पत्ति सार्वजनिक गरेका हुन्।
मंगलबार जारी श्वेतपत्रमा उल्लेख भएअनुसार २१ हजार पाँच सय ६२ रोपनी जग्गा ट्रष्टको नाममा छ। श्वेतपत्रमा उल्लेख भएअनुसार काठमाडौँमा ४ हजार ४४२ रोपनी जग्गा ट्रष्टको नाममा छ।
त्यस्तै, भक्तपुरमा ११३ रोपनी, ललितपुरमा ८ रोपनी, नुवाकोटमा २४० रोपनी, धनकुटामा १९४ रोपनी, मकवानपुरमा २६ रोपनी, काभ्रेपलाञ्चोकमा ९ रोपनी, सिन्धुपाल्चोकमा २७ रोपनी, सुर्खेतमा ४५७ रोपनी, कास्कीमा १७४ रोपनी, चितवनमा ७६७ रोपनी र धादिङमा १५ हजार १०१ रोपनी जग्गा नेपाल ट्रष्टको नाममा छ।
‘अहिलेसम्म नेपाल ट्रष्टलाई थाहा हुन आएका जग्गाहरू श्वेतपत्रमार्फत हामीले सार्वजनिक गरेका छौँ। अन्य जिल्लामा पनि खोजी भइरहेको छ’ रक्षामन्त्री पोखरेलले भने। काठमाडौंको लाजिम्पाट, कमलादी, दरबारमार्ग, कालिमाटी, ताहाचल, छाउनीमा रहेका जग्गाहरु व्यापारिक प्रयोजनको लागि भाडामा दिइएको छ।
अन्य क्षेत्रमा रहेका जग्गाहरू भने मोहीले बसोबास र खेतीपातीका लागि प्रयोग गरेका छन्। यी जग्गाहरू २०६४ सालमा नेपाल ट्रष्ट स्थापना भएपछि पूर्वराजाको नामबाट ट्रष्टको नाममा सारिएको हो। नेपाल ट्रष्टमा तत्कालीन राजपरिवारबाट आएको अमेरिकी डलर एक लाख ४८ हजार ५८१ र ब्रिटिस पाउन्ड स्टर्लिङ ५० हजार १२४ खातामा रहेको छ।नेपालका ट्रस्टका अध्यक्ष समेत रहेका पोखरेलले कसैलाई पनि गलत हिसाबले लिजमा नदिइएको दाबी गरे।
ट्रस्टको अधिकांश सम्पत्ति यती होल्डिङलाई दिएको खुलेपछि श्वेतपत्र जारी गरिएको हो। पत्रकार सम्मेलनमा पोखरेलले देशभर ट्रस्टको नाममा २२ हजार रोपनी जग्गा रहेको बताए। त्यसमध्ये १५ हजार रोपनी त जंगल रहेको जनाएको छ।














प्रतिक्रिया दिनुहोस्