अतिक्रमित सरकारी जग्गामा सरकारले चलायो डोजर , स्थानीय रुष्ट
काठमाडौँ , फागुन १० । पछिल्लो समय सरकारले अतिक्रमित सरकारी तथा सार्वजनिक जग्गा फिर्ता अभियानलाई तिव्रता दिएको छ ।
शनिबार काठमाडौं महानगरपालिकाको वडा नम्बर ३१ तीनकुने जागृतिनगरमा रहेको अतिक्रमित जग्गामा महागरले डोजर चलाएर जग्गा फिर्ता लिएको छ ।त्यसक्षेत्रबाट निर्वा्चित प्रदेशसभा सदस्य गणेश दुलाल र वडानम्बर ३१ का वडाध्यक्ष नारायणप्रसाद भण्डारीसहितको टोलीले अतिक्रमित जग्गामा डोजर चलाएको हो ।
महानगरले अतिक्रमित जग्गामा रहेका घर टहराहरु भत्काएको छ । वडाध्यक्ष भण्डारीले १८ दिने सूचना जारी गरेपनि अटेर गरेपछि डोजर चलाएर टहरा भत्काउनुपरेको बताए । ‘पटक पटक सूचना जारी गरेर अतिक्रमित जग्गा खाली गर्न आग्रह गर्दा पनि अटेर गरेपछि आज हामीले भत्काएका हौँ’, उनले भने ।
प्रदेशसभा सदस्य गणेश दुलालले प्रमाणहरुका आधारमा भत्काएको ठाउँको जग्गा सरकारको नाममा रहेकोले टहराहरु भत्काइएको बताए । ‘सरकारी जग्गा अतिक्रमण गरेर वर्षौदेखि एकजना व्यक्तिले भाडामा लगाएको थियो । बारम्बार सूचना जारी गर्दापनि अटेर गरेपछि आज घरटहरा भत्काएका हौँ । यो क्षेत्रमा रहेका सबै अतिक्रमित सार्वजनिक जग्गा फिताए गर्ने अभियानका साथ अगाडी बढेका छौँ’, उनले भने ।
यता स्थानीयहरुले भने खाली गर्न पर्याप्त सूचना नदिएको गुनासो गरेका छन् । जग्गा खाली गराउन ३५ दिने सूचना दिनुपर्नेमा १५ दिने सूचना जारी गरेर टहराहरु भत्काएको आरोप स्थानीयको छ ।
फाइल तस्बिर














प्रतिक्रिया दिनुहोस्