सोमपाल र बसन्तको अर्धशतक

काठमाडौं । ब्याट्सम्यान सोमपाल कामी र बसन्त रेग्मीले उच्च प्रदर्शन गरेपछि भारतको चेन्नईमा नेपाली क्रिकेट टोलीले पहिलो अभ्यास खेलमा सम्मान जनक स्कोर खडा गरेको छ ।

तमिनाडु प्रिमियर लिगको डिन्डिगुल ड्रयागन्ससँगको खेलमा टस जितेर ब्याटिङ गरेको नेपालका लागि सोमपाल र बसन्तले अर्धशतक पुरा गरेपछि ५० ओभरमा ८ विकेटको नोक्सानी २ सय १७ रन बनाएको छ । दबाबकाबीच सोमपाल र बसन्तले सातौं विकेटका लागि १ सय ७ रनको साझेदारी गरेपछि नेपालले सम्मानजनक स्कोर बनाएको हो ।

सोमपालले ६६ र बसन्तले अविजित ५६ रन बनाए थिए । ७७ बल खेलेका सोमपालले २ चौका र ४ छक्का प्रहार गरे । बसन्तले ८३ बलमा १ चौका र २ छक्का प्रहार गरे । त्यसअघि ८५ रन जोड्दा नेपालले महत्वपूर्ण ६ विकेट गुमाएको थियो ।

ओपनर ज्ञानेन्द्र मल्ले ३९ अर्का ओपनर सागर पुनले १५ र आसिफ शेखले २१ रन बनाए भने अन्य खेलाडी सस्तैमा आउट भएका थिए । कप्तान पारस खड्का पहिलो बलमै आउट भए भने सन्दीप लामिछानेले २ तथा शरद भेषावकर र विनोद भण्डारीले समान १ रनमा आउट भएका थिए । सुशिल कंडेल १ रनमा अविजित रहे ।

विश्व कप क्रिकेट लिग (डब्लूसिएल) च्याम्पियसिप अन्तर्गत अर्को महिना हङकङविरुद्धको दुई खेलको तयारीका लागि नेपाली टोली भारत भ्रमणमा निस्केको हो । चेन्नईमा नेपालले ४ वटा अभ्यास खेल खेल्दैछ ।

प्रतिक्रिया दिनुहोस्