कमल थापा भन्छन् -एमसिसी नेपालको हितमा छ, किन विरोध गर्नु पर्यो ?

काठमाडौं, फागुन ६ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष कमल थापाले एमसिसी नेपाल र नेपालीको हितमा रहेको बताएका छन्।

‘एमसिसी नेपाली जनताको पक्षमा छ। यसलाई संसदबाट पारित गर्नुपर्छ,’ पार्टीको राष्ट्रिय महाधिवेशनको तयारीको लागि प्रदेश नम्बर ५ को बुटवल आएका थापाले मंगलबार भने, ‘एमसिसीबारे भ्रम फैलाइएको छ, त्यसबारे सरकारले जनतालाई स्पष्ट पार्नुपर्छ।

अध्यक्ष थापाले पार्टीको महाधिवेशनको कामसँगै राप्रपा नेपालसँग एकीकरणको काम पनि अघि बढेको बताए। ‘पार्टी एकीकरणको सबै कुरा मिलिसकेको छ। अब पशुपतिजी र प्रकाशचन्द्रजीले जहिले बोलाउनुहुन्छ हामी जान तयार छौं,’ उनले भने।

अध्यक्ष थापाले आउँदो जेठ २५ गते हुने पार्टीको राष्ट्रिय महाधिवेशन संगठन निर्माणको अभियानसमेत भएकोले यो अभियानमा पार्टीमा तीन लाख सक्रिय सदस्य बनाउने लक्ष्य रहेको बताए।

विगतका कमजोरी सच्चाउँदै आगामी निर्वाचनमा मुख्य तीन राजनीतिक दलमध्ये एक बनाउने संकल्पका साथ राष्ट्रव्यापी अभियान संचालन गरेको दाबी गरे।

प्रतिक्रिया दिनुहोस्