नाडेपको लघुवित्तको दोस्रो वित्तिय विवरण प्रकाशित खुद नाफामा सुधार
काठमाडौं, ६ फागुन । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । जस अनुसार लघुवित्तले सम्भावित जोखिम बापतको व्यवस्थामा रकम घटाएका कारण खुद नाफामा सुधार भएको हो ।
चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा लघुवित्तले ३ करोड १९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा गत आर्थिक वर्षको यसै अवधिको तुलनामा १२३।७१ प्रतिशत अर्थात १ करोड ७६ लाख रुपैयाँ बढी हो । गत आर्थिक वर्षको यसै अवधिसम्ममा लघुवित्तले १ करोड ४२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
यस अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी २ करोड ३ लाख रुपैयाँ अर्थात १७ प्रतिशत बढेर १४ करोड ८० हजार पुगेको छ । लघुवित्तको सञ्चालन मुनाफा भने २ करोड ७८ लाख रुपैयाँ अर्थात १३९।१६ प्रतिशतले बढेर ४ करोड ७९ लाख रुपैयाँ पुगेको छ ।
पुस मसान्तसम्ममा १ अर्ब ३१ करोड रुपैयाँ निक्षेप र २ अर्ब ४९ करोड रुपैयाँ सापटीबाट ४ अर्ब १४ करोड कर्जा परिचालन गरेको छ । निष्क्रिय कर्जा भने गत आर्थिक वर्षको यसै अवधिको तुलनामा केहि बढेर ४।७९ प्रतिशत पुगेको छ ।
धादिङ जिल्लाको गजुरीमा क्रेद्रिय कार्यालय रहेको नाडेप लघुवित्त वित्तिय संस्थाको चुक्ता पूँजी ३६ करोड ८० लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा २१ करोड ६२ लाख रुपैयाँ सञ्चित छ । प्रतिशेयर आम्दानी १७ रुपैयाँ ३५ पैसा र मूल्य आम्दानी अनुपात ३५।१० गुणा रहेको छ ।
प्रतिक्रिया दिनुहोस्