स्वास्थ्य मन्त्रालयले भन्यो- कोरोनाको आशंका गर्दै चीनमा रोकिएका ४ जना नेपाली सुरक्षित छन्
काठमाडौं, फागुन ४ । कोरोनाको आशंका गर्दै चीनमा रोकिएका ४ जना नेपाली सुरक्षित रहेका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।आइतवार आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका सह प्रवक्ता सागर दाहालले उद्धार गरि नेपाल ल्याउने क्रममा ज्वरो देखिएका चार जनाको अवस्था अहिले सामान्य रहेको बताए ।
यसैबीच चीनको कोरोना प्रभावित क्षेत्रबाट आइतबार विहान स्वदेश फर्काइएका १ सय ७५ जना नेपालीको कोरोना परीक्षणका लागि नमूना संकलन गरिएको छ । संकलन गरिएको नमूना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको छ ।स्वास्थ्य मन्त्रालयका सह प्रवक्ता सागर दाहालले परीक्षणका लागि प्रयोगशाला पठाइएको नमूनाको रिपोर्ट बुधवार आउने बताए ।सरकारले चीनबाट स्वदेश फर्काएका नेपालीहरुलाई दुई चरणमा कोरोनाको प्रयोगशालामा नमुना परीक्षण गर्ने जनाएको थियो।
सरकारले शनिबार नेपाल एयरलाइन्सको विमान चीन पठाएर आइतबार बिहान १ सय ७५ जना नेपालीलाई स्वदेश ल्याएको हो ।चीनबाट स्वदेश फर्कीएकाहरु अहिले भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनमा रहेका छन् ।उनीहरुमा कोरोना भाइरसको संक्रमण छ वा छैन भनेर पुष्टि गर्नका लागि क्वारेन्टाइनमा पुगेको २४ घण्टाभित्र पहिलो पटक नमुना परीक्षणका लागि पठाइएको हो ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट खटिएको प्राविधिकको टोलीले क्वारेन्टाइनमा सुरक्षितस रुपमा बसरीरहेका चीनबाट फर्किएका नेपालीको कोरोना परीक्षण गर्न थ्रोट स्वाब र्( याल) को नमुना संकलन गरेको हो ।चीनबाट स्वदेश फर्किएका नेपालीहरुलाई दुईसाता क्वारेन्टाइनमा राखेपछि उनीहरुको दोस्रो पटक कोरोनाको प्रयोगशालामै परीक्षण गर्ने स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता दाहालले बताए ।
दोस्रो पटकको परीक्षणमा कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि मात्र उनीहरुलाई आफ्नो घर फर्कन दिइने छ । दुईसातासम्म क्वारेन्टाइनमा रहेका नेपालीले हरेक दिन दुईपटक थर्मो्मिटरको माध्यमबाट तापक्रम ( ज्वरो टेष्ट) जाँच गर्नुपर्ने जनाएको छ । जसका लागि सरकारले क्वारेन्टाइनमा रहेका सबैको व्यक्तिका लागि छुट्टाछुट्टै थर्मा्मिटर समेत उपलब्ध गराएको छ ।














प्रतिक्रिया दिनुहोस्