नेपाल इन्स्योरेन्सको खुद नाफा बढ्यो

काठमाडौँ, माघ २९ । नेपाल इन्स्योरेन्सको खुद नाफा बढेको छ । कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक सम्ममा ८ करोड ७४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । इन्स्योरेन्सका नाफा गत आर्थिक वर्षको सो अवधिको तुलनामा १९.४४ प्रतिशत अर्थात १ करोड ४२ लाख रुपैयाँले बढी हो।

गत आर्थिक वर्ष यस अवधिसम्ममा इन्स्योरेन्सले ७ करोड ३२ लाख रुपैयाँ खुद नाफा कमाएको कम्पनीले जनाएको छ। इन्स्योरेन्सको खुद बीमा शुल्क बढेसंगै खुद नाफामा पनि सुधार भएको र यस अवधिसम्ममा इन्स्योरेन्सले ३२ करोड १९ लाख रुपैयाँ खुद बीमा शुल्क संकलन गरेको कम्पनीले जानकारी दिएको छ।

गत आर्थिक वर्षको यसै अवधिको तुलनामा ८ करोड १८ लाख रुपैयाँले बढी हो। गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा कम्पनीले २४ करोड १ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो।

उक्त अवधिसम्ममा कम्पनीले पुनर्बीमा कमिशनबाट ७ करोड ८६ लाख रुपैयाँ र लगानी कर्जा तथा अन्य आयबाट ३ करोड १८ लाख रुपैयाँ आम्दानी गरेको कम्पनीले जनाएको छ ।

चुक्ता पूँजी एक अर्ब ९ करोड ५५ लाख रुपैयाँ रहेको नेपाल इन्स्योरेन्सको जगेडा कोषमा ३२ करोड २५ लाख रुपैयाँ, बीमा कोषमा ३४ करोड १३ लाख रुपैयाँ सञ्चित भएको कम्पनीले जानकारी दिएको छ ।

कम्पनीका अनुसार यस अवधिमा कम्पनीले १ हजार ५३८ दाबी बापत १३ करोड ३१ लाख रुपैयाँ कुल दाबी भुक्तानी गरेको छ भने २ हजार ४५३ दाबी बापत ८६ करोड ९० लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ।
कम्पनीले ८६ हजार ८१ बीमालेख जारी गरी ६२ करोड १ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ।

प्रतिक्रिया दिनुहोस्