आईजीपी ज्ञवालीद्वारा दर्ज्यानी चिह्न ग्रहण, भने -व्यवसायिक र पारदर्शी रूपमा काम गर्छु

काठमाडौं । हिजो मात्रै नवनियुक्त भएका प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले दर्ज्यानी चिह्न ग्रहण गरेका छन् ।

बुधबार गृह मन्त्रालयमा आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक (आईजीपी) ज्ञवालीलाई गृहसचिव महेश्वर न्यौपानेले दर्ज्यानी चिह्न लगाइदिएका हुन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले ज्ञवालीलाई नेपाल प्रहरीको २७औं महानिरीक्षकमा बढुवा गरेको थियो ।

आईजीपी सर्वेन्द्र खनालले मंगलबारबाट ३० वर्षे सेवा अवधिका कारण अवकाश पाएपछि सरकारले ज्ञवालीलाई आईजीपीमा बढुवा गरेको हो ।

यसअघि नायब महानिरीक्षक (डीआईजी) रहेका ज्ञवाली प्रदेश १ प्रहरी प्रमुखका रूपमा कार्यरत थिए । दर्ज्यानी चिह्न ग्रहणपछि आईजीपी ज्ञवालीले नेपाल प्रहरीले सम्पादन गर्ने हरेक जिम्मेवारी पारदर्शी तवरबाट सम्पादन गर्न प्रहरी कर्मचारीहरू आफ्नो जिम्मेवारीप्रति पूर्णरूपमा जवाफदेही रहने र कुनै प्रकारको अकर्मण्यता, गैरव्यावसायिक आचरणलाई पूर्णतः निर्मूल गर्ने तथा गृह मन्त्रालयले तयार गरेको मार्गदर्शनमा रही गृह प्रसाशन मातहतको उत्कृष्ट नमुना संगठनका रूपमा नेपाल प्रहरीलाई स्थापित गर्ने प्रतिबद्धता व्यक्त गरे ।

उनले जस्तोसुकै चुनौतीमा पनि उच्च व्यावसायिक धर्म र उच्च मनोबलका साथ कर्तव्यपथमा समर्पित रहन प्रहरी महानिरीक्षकदेखि प्रहरी जवानसम्म सम्पूर्ण सदस्यहरू प्रतिबद्ध रहेको बताए । यससँगै प्रहरी महानिरीक्षक ज्ञवालीले बुधबारै प्रहरी प्रधान कार्यालय नक्साल पुगेर पदभार ग्रहण गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्