सिभिल बैंकको नाफा १४.७६ प्रतिशतले घट्यो

काठमाडौं, माघ २८ । चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा सिभिल बैंकले रू. ३१ करोड ६२ लाख खुद नाफा गरेको छ । यो नाफा गत वर्षको यसै अवधिमा रू. ३७ करोड ९ लाख ९७ हजार थियो । गत वर्षभन्दा यस वर्ष बैंकको नाफा १४ दशमलव ७६ प्रतिशतले घटेको हो ।

यस वर्ष बैंकले शाखा विस्तारमा जोड दिएकाले सञ्चालन खर्च बढ्न गई नाफामा असर परेको बैंकले जानकारी दिएको छ । गत वर्ष यस अवधिसम्म बैंकको शाखा संख्या ७३ मात्र रहेकोमा यस वर्ष ३१ थप शाखा विस्तार भई १०२ पुगेको छ । बैंकले निकट भविष्यमा थप १७ ओटा शाखा विस्तार गर्ने बताएको छ ।

हाल बैंकको चुक्तापूँजी रू. ८ अर्ब ३३ लाख ९० हजार छ । चुक्तापूँजीमा पनि कुनै उतारचढाब देखिएको छैन । यस वर्ष बैंकले नगद लाभांश मात्र दिएको छ । यस वर्ष जगेडा कोष रकम गत वर्षभन्दा शून्य दशमलव शून्य ८ प्रतिशत बढी रू. १ अर्ब ६० करोड ९० लाख कायम भएको छ ।

निक्षेप संकलन गत वर्षभन्दा यस वर्ष १३ दशमलव ७० प्रतिशत बढी रू. ४७ अर्ब ७४ करोड ६० लाख र कर्जा प्रवाह गत वर्षभन्दा १२ प्रतिशत बढी रू. ४७ अर्ब ७६ करोड १७ लाख भएको छ । दोस्रो त्रैमाससम्म बैंकको वितरणयोग्य नाफा रू. १३ करोड ११ लाख ५२ हजार छ ।

बैंकको निष्क्रिय कर्जा २ दशमलव ६९ प्रतिशत कायम भएको छ । गत वर्षभन्दा यस वर्ष निष्क्रिय कर्जा घटेको हो । गत वर्ष ३ दशमलव ५४ प्रतिशत निष्क्रिय कर्जा रहेको थियो । यस अवधिसम्म बैंकको आधार ब्याजदर १० दशमलव ९८ प्रतिशत छ । गत वर्ष यो ब्याजदर ११ दशमलव ३१ प्रतिशत थियो । माघ २८ गते दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको बैंकको प्रतिशेयर आम्दानी रू. ७ दशमलव ९० रहेको छ ।

प्रतिक्रिया दिनुहोस्