अब वाणिज्य बैंकले पनि ब्रोकरको काम गर्न पाउने

काठमाडौ , माघ २८ । अब वाणिज्य बैंकले पनि ब्रोकरको काम गर्न पाउने भएका छन् । वाणिज्य बैंक तथा नागरिक लगानी कोषजस्ता वित्तीय संस्थाहरुले पनि धितोपत्र दलाल (ब्रोकर)को काम गर्न पाउने भएका हु्न् ।

फागुन १ गतेदेखि लागू हुनेगरी नेपाल धितोपत्र बोर्डले धितोपत्र व्यवसायी (धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्माता) नियमावली, २०६४ संशोधन गरी वाणिज्य बैंक तथा विशेष ऐनद्वारा स्थापित वित्तीय संस्थाहरुले कम्तीमा ५१ प्रतिशत स्वामित्व भएको सहायक कम्पनी खोलेर बोर्डबाट अनुमति प्राप्त गरी ब्रोकरको काम गर्न पाउने व्यवस्था गरेको हो ।

सो विनियावली अनुसार ब्रोकर दलाल कम्पनीमा लगानी गर्ने लगानीकर्ताको पनि स्रोत खुलाउनुपर्नेछ भने ब्रोकर कम्पनीहरु मर्जरमा जान पनि सक्ने व्यवस्था गरिएको छ । त्यस्तै ब्रोकर कम्पनीले मार्जिन कारोबार पनि गर्न पाउनेछन् । धितोपत्र व्यापारीले इस्यु म्यानेजरको पनि काम गर्न पाउने व्यवस्था गरिएको छ ।

त्यस्तै ब्रोकर कम्पनीले संस्थागत जोखिम व्यवस्थापन गर्न तथा संस्थाको वित्तीय सवलताको लागि जगेडा कोष राख्नुपर्ने व्यवस्था गरिएको छ । उनीहरुको न्यूनतम चुुक्तापुँजी २० करोड रुपैयाँ हुनुपर्ने व्यवस्था गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्