प्रतिनिधिसभा बैठक: कोरोना प्रभावित क्षेत्रका नेपालीको उद्धार गर्न माग
काठमाडौं, माघ २ड । प्रतिनिधिसभा आजको बैठकको शून्य समयमा सांसदहरुले मुलुकको समसायिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । सांसद विमला विकले बाँके बर्दिया क्षेत्रमा अझै बाढीपीडितका समस्या समाधान गर्न माग गरिन् ।
सांसद भूमिप्रसाद त्रिपाठीले नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गमा देखिएको मुआब्जा समस्या तत्काल समाधान गरी निर्माण कार्य अघि बढाउन सरकारको ध्यानाकर्षण गराए । सांसद भैरवबहादुर सिंहले बझाङको एकमात्र राजमार्ग साँघुरो र कालोपत्र पनि गुणस्तरहीन भएको भन्दै स्तरोन्नतिको माग गरे ।
सांसद मीनबहादुर विश्वकर्माले चीनको कोरोना भाइरस प्रभावित क्षेत्रमा रहेका नेपालीलाई तत्काल उद्धार गर्न माग गरे । सांसद यशोदा गुरुङ सुवेदीले छाउपडी गोठ भत्काएर मात्र यसको समाधान नहुने भन्दै मनमस्तिष्कबाट छाउपडी प्रथा हटाउन सबै लाग्नुपर्ने बताए ।
कोरोना प्रभावित क्षेत्रका नेपालीको उद्धार गर्न माग
प्रतिनिधिसभाका सांसदहरुले चीनको कोरोना भाइरस प्रभावित क्षेत्रमा रहेका नेपालीको तत्काल उद्धार गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा समय माग गर्दै उहाँहरुले कोरोना भाइरस प्रभावित क्षेत्रमा रहेका नेपालीलाई स्वदेश ल्याएर राखिने ‘क्वारेन्टाइन स्थल’ विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार तत्काल व्यवस्था गरी उद्धार गर्न सुझाव दिए ।
सांसद सरिता गिरीले चीनको कोरोना भाइरस प्रभावित क्षेत्रमा नेपाली फसेको उल्लेख गर्दै तत्काल उनीहरुको उद्धार गरी नेपाल ल्याउन सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले यस विषयले संसद्मा आवश्यकताअनुसार प्राथमिकता पाउन नसकेको समेत बताए । सांसद प्रेम सुवालले कोरोना भाइरस प्रभावित क्षेत्रबाट स्वदेश ल्याइने नेपालीलाई राखिने ‘क्वारेन्टाइन स्थल’का रुपमा भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालीम केन्द्रलाई तोकिएकामा जनताको विरोध रहेको बताए । उनले यस्तो स्थल घना बस्तीभन्दा टाढा राख्न सरकारको ध्यानाकर्षण गराए ।
सांसद आशाकुमारी विकले बझाङको साइपाल गाउँपालिकामा हिमपातका कारण यातायात अवरुद्ध हुँदा भोकमरीको समस्या देखिएको भन्दै तत्काल हेलिकोप्टरबाट खाद्यान्न ढुवानी गरी समस्या समाधान गर्न माग गरे । सांसद एकवाल मिँयाले भारतबाट नेपालमा सामान आयात गर्दा प्रहरीबाटै अवरोध हुने गरेको गुनासो गर्दै सहज व्यवस्था गर्न माग गरे ।
तीन प्रतिवेदन पेश
प्रतिनिधिसभाकोे बैठकमा विषयगत समितिका तीन प्रतिवेदन पेश भएका छन् । आजको बैठकमा कानून, न्याय तथा मानव अधिकार समितिका सभापति कृष्णभक्त पोखरेलले ‘प्रमाण (दोस्रो संशोधन), कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति पूर्णकुमारी सुवेदीले ‘बीउ बिजन (दोस्रो संशोधन) र राज्य व्यवस्था तथा सुशासन समितिका सभापति शशी श्रेष्ठले ‘लोक सेवा आयोग विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०७६’ पेश गर्नुभएको थियो ।
सङ्घीय संसद्को सचिव गोपालनाथ योगीले ‘औद्योगिक व्यवसाय विकास प्रतिष्ठान (पहिलो संशोधन) विधेयक, २०७६’ राष्ट्रियसभाबाट प्राप्त सन्देश सहितको विधेयक बैठकमा टेबुुल गर्नुभएको थियो ।––
प्रतिक्रिया दिनुहोस्