दिल्ली विधानसभा चुनावमा आम आदमी पार्टी स्पष्ट बहुमततर्फ

काठमाडौं, २८ माघ । दिल्ली विधानसभा चुनावको मतगणना सुरु भएको छ । प्रारम्भिक परिणाम अनुसार आम आदमी पार्टी (आप) स्पष्ट बहुमततर्फ अग्रसर बन्ने देखिएको छ । पछिल्लो विधानसभा चुनावमा उसले ६७ सिटमा जित हासिल गरेको थियो ।

दिल्ली विधानसभाका ७० सिटका लागि गत ८ तारिखमा चुनाव भएको थियो । बहुमतका लागि ३६ सिट ल्याउनुपर्छ ।

आपले गुमाएको सिट भारतीय जनता पार्टी (भाजपा) ले जित्ने सङ्केत देखिएको छ । बिहान साढे ९ बजेसम्मको मतपरिणाम अनुसार आप ५३, भाजपा, १६ र काँग्रेसले १ सिटमा अग्रता बनाएको छ ।

गत फेब्रुअरी ८ मा दिल्ली विधानसभाको ७० सिटका लागि निर्वाचन भएको थियो । यसपटक ६२.५९ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ ।
दिल्लीमा अहिले पनि आप कै सरकार छ । भाजपाले दिल्लीमा पछिल्लो २२ वर्षदेखि सरकार बनाउन सकेको छैन भने कँग्रेस पनि ७ वर्षदेखि सत्ता बाहिर छ ।

मतगणना अघि उपमुख्यमन्त्री मनिष सिसोडियाले भनेका थिए, ‘हामी यो चुनाव जित्नेमा ढुक्क छौँ किनभने पछिल्लो ५ वर्ष हामीले जनताको लागि काम गरेका छौँ ।’

यसअघि, सबै एक्जिट पोलमा आपले नै सजिलै बहुमत हासिल गर्ने देखिएको थियो । तर, भाजपाले भने त्यसलाई खारेज गर्दै आइरहेको थियो । उसले यो चुनावमा ४८ सिट जित्ने दाबी गरिरहेको थियो ।

प्रतिक्रिया दिनुहोस्