अबको प्रहरी महानिरीक्षक को होला ? चर्चा सुरु
काठमाण्डौ , माघ २७ । नेपाल प्रहरीको भावी नेतृत्व चयनका विषयमा उच्च तहमा छलफल सुरु भएको छ । यही २८ गते मङ्गलबार ३० वर्षे सेवा अवधिका कारण प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल बिदाइ हुनेछन् । गृह मन्त्रालय स्रोतका अनुसार प्रहरी महानिरीक्षक नियुक्तिका लागि छलफल सुरु भएको छ ।
सम्भवतः २७ गते साँझसम्ममा सरकारले नेतृत्व चयनका विषयमा नयाँ निर्णय गरिसक्ने अपेक्षा गरिएको छ । प्रहरी महानिरीक्षकको सम्भावित उम्मेदवारका रूपमा प्रहरी नायव महानिरीक्षक (डीआईजी) द्वय ठाकुरीप्रसाद ज्ञवाली र तारिणी लम्सालको नाम चर्चामा रहेको छ । ज्ञवाली प्रदेश–१ को प्रहरी मुख्यालय विराटनगर र लम्साल सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय प्रमुखका रूपमा कार्यरत छन् ।
डीआईजी ज्ञवाली र लम्साल २०४७ साल असार २५ गते प्रहरी निरीक्षकबाट सेवामा प्रवेश गरेका हुन् । वर्तमान महानिरीक्षक खनालका एकै विज्ञापनमा ज्ञवाली र लम्साल सेवा प्रवेशमा वैकल्पिक उम्मेदवार भएका कारण पाँच महिना ढिलो नियुक्ति पाएका थिए ।
सोही समूहका सूर्यप्रसाद उपाध्याय भने डीआईजी बढुवा हुँदा पछाडि परेका हुन् ।अब नियुक्त हुने प्रहरी प्रमुख नेपाल प्रहरी सङ्गठनको २७औंँ प्रहरी महानिरीक्षक बन्ने छन् ।














प्रतिक्रिया दिनुहोस्