विश्वकप क्रिकेट लिग–२: ओमानसँग नेपाल फेरि पनि पराजित

काठमाडौँ, माघ २६ । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको आफ्नो तेस्रो खेलमा नेपाल आज पनि ओमानसँग पराजित भएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा ओमानले नेपाललाई ८ विकेटले पराजित गरेको हो।

ओमानले टस जितेर फिल्डिङ रोजेपछि पहिले व्याटिङ गरेको नेपालले निर्धा्रित ५० ओभरमा ८ विकेटको क्षतिमा २४९ रन बनाएको थियो।

२५० रनको लक्ष्य पछ्याएर जवाफी व्याटिङ थालेको ओमानले ४७ ओभर दुई बलमा लक्ष्य पूरा गर्‍यो। ओमानका लागि अकिब इल्यासले शतक प्रहार गरे। यस्तै जीशन मक्सुदले ६८, खवार अलीले ४१ तथा जतिन्दर सिंहले २३ रन जोडे।

यसअघि पहिले व्याटिङ गरेको नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले अर्धशतक बनाए। ७६ बलको सामना गरेका मल्लले ६ चौका र एक छक्काको मद्दतमा ५६ रन बनाए।

यस्तै पूर्वकप्तान पारस खड्काले ३८, विनोद भण्डारीले ३५, आरिफ शेख र कुशल मल्लले समान २८, सुवास खकुरेलले २२, करण केसी र सन्दीप लामिछानेले समान १० तथा कमलसिंह ऐरीले ९ रनको योगदान दिए पनि त्यो जितका लागि पर्याप्त हुन सकेन।

बलिङतर्फ ओमानका अकिब इल्यासले ४ तथा मोहम्मद नदीमले ३ विकेट लिए।व्याटिङमा नेपालले राम्रो प्रदर्शन गरेपनि बलिङमा भने सन्तोषजनक प्रदर्शन गर्न सकेन।नेपालका लागि बलिङतर्फ कुशल मल्ल र सुसान भारीले एक–एक विकेट लिए पनि अन्य कुनै पनि बलरले ओमानको विकेट झार्न सकेनन्।

आफ्नो पहिलो खेलमा ओमानसँग १८ रनले पराजित भएको नेपालले दोस्रो खेलमा शनिबार अमेरिकालाई ३५ रनले हराएको थियो।

प्रतिक्रिया दिनुहोस्