ए डिभिजन लिग: एनआरटीलाई हराउँदै मनाङ तेस्रो स्थानमा

काठमाडौं, माघ २६ । साविक विजेता मनाङ मर्स्याङ्दी क्लब शहीद स्मारक ए डिभिजन लिगको तेस्रो स्थानमा उक्लिन सफल भएको छ । लिग अन्तर्गत आइतबार भएको ११ औं चरणको अन्तिम खेलमा मनाङले एनआरटीलाई पराजित गर्दै अंक तालिकामा थ्री स्टारलाई पछि पार्दै तेस्रो स्थानमा रहन सफल भएको हो ।

एन्फा कम्प्लेक्समा भएको खेलमा अन्जन विष्टको दुई गोल मद्दतमा मनाङले एनआरटीलाई ४(१ ले पराजित गरेको हो ।जीतपछि ११ खेलबाट मनाङले २२ अंक जोडेको छ । समान खेलबाट २६ अंकसहित त्रिभुवन आर्मी पहिलो स्थानमा छ भने २५ अंक जोडेको मछिन्द्र क्लब दोस्रो स्थानमा छ । ११ खेलबाट २० अंकसहित थ्री स्टार चौथो स्थानमा छ ।

मनाङसंग पराजित भएपछि एनआरटी भने शीर्ष ६ बाट बाहिरै छ । ११ खेलबाट १५ अंक रहेको एनआरटी सातौं स्थानमा छ ।३५ औं मिनेटमा विमल रानाको गोलबाट अग्रता लिएको मनाङका लागि अन्जनले ४३ औं मिनेटमा अग्रता दोब्बर पारेका थिए ।

६५ औं मिनेटमा अन्जनले व्यक्तिगत दोस्रो गोल गरेपछि मनाङले ३(० को अग्रता बनायो । एनआरटीका लागि ८९ औं मिनेटमा सकल रेग्मीले एक गोल फर्काउँदै गोलअन्तर कम पारेका थिए । तर इन्जुरी टाइममा भारतीय खेलाडी दयानन्द सिंहले गोल गर्दै मनाङलाई ४-१ को जित दिलाए ।

प्रतिक्रिया दिनुहोस्