ग्लोबल आईएमई बैंक ६ महिनामै २ अर्ब १४ करोड खुद मुनाफा आर्जन गर्न सफल

काठमाडौं, माघ २६ । मर्जरपश्चात् ग्लोबल आईएमई बैंक पूँजी तथा व्यवसायको हिसाबले नेपालकै ठूलो तथा मजबुत बैंक बनेको छ ।यसैबीच ग्लोबल आईएमई बैंकले ६ महिनामा २ अर्ब १४ करोड खुद मुनाफा आर्जन गर्न सफल भएको छ । यस आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा रु. २ अर्व १४ करोड खुद मुनाफा आर्जन गर्न सफल भएको बैंकले जनाएको छ ।

उक्त मुनाफामा साबिकको जनता बैंक नेपाल लि. को २०७६ मंसिर १९ सम्मको मुनाफा समेत समावेश पनि भएको छ । ग्लोबल आईएमई बैंक लि. र जनता बैंक नेपाल लि. एक आपसमा गाभिई गत मंसिर २० गतेदेखि एकिकृत कारोबार शुरु गरेका थिए ।

हाल बैंकको प्राथमिक पूँजी रु. २४ अर्व ८७ करोड, कुल पूँजी रु. २८ अर्ब १६ करोड, कुल निक्षेप रु. २ खर्व १३ अर्व र कर्जा तथा ऋण लगानी रु. १ खर्ब ९८ करोड भन्दा बढी पुगेको छ ।

हाल बैंकले २७० शाखा, २५७ एटिएम, ३८ एक्सटेन्सन काउन्टर तथा राजश्व संकलन काउन्टर र २४९ शाखा रहित बैंकिङ्ग सेवामार्फत देशका ७० वटा जिल्लामा सेवा प्रदान गरिरहेको र यसै आर्थिक वर्षमा खोलिने थप ५९ शाखा सहित देशका ७७ वटै जिल्लामा सेवा विस्तार गर्ने योजना रहेको छ ।

बैंकले हाल देश तथा विदेशमा रहेका आफ्ना ८१७ शाखा तथा सेवा सञ्जालमार्फत १९ लाख भन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ । ग्राहकहरुलाई अझै सेवामा गुणस्तर दिने बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्