ऊर्जामन्त्री पुनको निर्देशन- समयमै काम नगर्नेको ठेक्का सम्झौता रद्द गर्नू

काठमाडौँ,माघ २५ । ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री मन्त्री वर्षमान पुन ‘अनन्त’ले सम्झौताअनुसार काम नगर्ने निर्माण कम्पनीसँगको सम्झौता रद्द गर्न मातहतका निकायलाई निर्देशन दिएका छन् ।

मन्त्रालयले आयोजना गरेको छलफल कार्यक्रममा छलफलमा मन्त्री पुनले यस्तो निर्देशन दिएका हुन् । विगतमा राजनीतिक अस्थिरता र संक्रमणको फाइदा उठाउँदै ठेक्का लिने र समयमै काम नगर्ने प्रवृत्ति रहँदै आएकोमा वर्तमान सरकार गठन भएपछि त्यस्तो प्रवृत्तिमा सुधार आएको उनले दावीसमेत गरे ।

आफूले मन्त्रालयको नेतृत्व गरेयता दुई वर्षको अवधिमा समस्याग्रस्त ठेक्काको संख्यामा उल्लेख्य कमी आएको भन्दै उनले बाँकी रहेकाको पनि निरन्तर प्रगति विवरण हेरिरहेको जानकारी दिए ।ठेक्का लगाउने सम्बन्धित कार्यालयले विभागमार्फत मासिक रुपमा प्रगति विवरण मन्त्रालयमा पठाउने व्यवस्था गरिएको उनको भनाइ थियो ।

‘विगतमा राजनीतिक अस्थिरता र संक्रमणका नाममा जे भयो भयो’, मन्त्री पुनले भने, ‘विगतमा जस्तो संक्रमणकाल, कमजोर सरकार, कमजोर प्रणाली र काम गर्ने वातावरणमा असहजता अहिले छैन । अब कुनै पनि बहानामा काममा ढिलाइ गर्ने प्रवृत्तिलाई छुट हुँदैन ।’

उनले निरन्तर अनुगमन गर्न मातहतका निकायलाई निर्देशनसमेत दिए । आफू मन्त्री भएर आउँदा विद्युत प्राधिकरण र सिंचाइमा धेरै ठेक्का समस्याग्रस्त अवस्थामा रहेको भन्दै उनले दुई वर्षमा अथक प्रयासस्वरुप धेरै घटाउन सकिएको बताए ।

विगतमा हरेक ६÷८ महिनामा सरकार परिवर्तन हुने गरेका कारण हरेक प्रधानमन्त्री, मन्त्री, सांसद, सचिव र उच्चपदस्थहरुका खल्तीबाट आयोजना छनोट हुने र अर्को सरकार आउने बित्तिकै ती आयोजना प्राथमिकतामा नपर्ने गरेका कारण समस्या थुप्रिएको उनको भनाइ थियो ।

अहिले खल्तीका आयोजना एउटै नभएकाले भविष्यमा काम गर्न सहज हुने विश्वास व्यक्त गर्दै उनले विकासका काममा कहिले काहीँ जोखिमपूर्ण निर्णय लिन कर्मचारीले डराउन नहुने प्रष्ट पारे ।

प्रतिक्रिया दिनुहोस्