ललिता निवास जग्गा प्रकरण: गच्छदारसहित डेढ सयभन्दा बढीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता
काडमाडौं, माघ २२ ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रधानमन्त्रीको सरकारी निवास भएको बालुवाटारस्थित ललितानिवास जग्गा हिनामिना प्रकरणमा पूर्व उपप्रधानमन्त्री विजय गच्छदार र आफ्नै पूर्वप्रमुख आयुक्त दीप बस्न्यातसहित डेढ सयभन्दा बढीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
अख्तियारले आफ्नै पूर्व प्रमुख आयुक्त दीप बस्न्यात लगायतलाई विपक्षी बनाएर बुधबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।विशेष अदालत स्रोतका अनुसार अख्तियारले १०० जनाभन्दा बढी व्यक्तिलाई प्रतिवादी बनाएर मुद्दा दर्ता गरेको छ ।
‘ललिता निवास प्रकरणमा १०० भन्दा बढीलाई प्रतिवादी बनाएर मुद्दा आएको छ,’ विशेष अदालत स्रोतले भन्यो, ‘हामी पनि प्रतिवादीको नाम पढ्दै छौं । अहिले अभियोग पत्र रुजु गर्ने काम भइरहेको छ ।’
सरकारले अधिग्रहण गरेको १ सय १२ रोपनी जग्गा व्यक्तिका नाममा दर्ता गरी हिनामिना भएको सार्वजनिक भएपछि यस विषयमा अनुसन्धान अघि बढेको थियो ।
विशेष अदालत स्रोतका अनुसार अख्तियारले पूर्वमन्त्रीहरु विजयकुमार गच्छदार, डम्बर श्रेष्ठ र चन्द्रदेव जोशी तथा तत्कालीन कर्मचारीहरु दीप बस्न्यात, छबिराज पन्त, दिनेशहरि अधिकारी लगायतलाई प्रतिवादी बनाएको छ ।
बालुवाटारको २ सय ९९ रोपनीमध्ये १ सय १४ रोपनी सरकारी जग्गा ब्यक्तिको नाममा सारी भ्रष्टाचार गरेको देखिएपछि सरकारले छानबिन शुरु गरेको थियो ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआई)ले बालुवाटार जग्गा ब्यक्तिका नाममा सर्ने प्रकरणको अनुसन्धान गरी गत शुक्रबार मात्रै गृह मन्त्रालय र अख्तियारलाई प्रतिवेदन बुझाएको थियो ।
सीआईबीले बुझाएको अनुसन्धान प्रतिवेदनको आधारमा अख्तियारले बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।यस प्रकरणमा जोडिएको भनेर चर्चामा रहेका पूर्व मुख्यसचिव लिलामणि पौडेलले भने उन्मुक्ति पाएका छन् । हाल चीनका लागि नेपाली राजदूत रहेका पौडेलको नाम आरोपपत्रमा नरेहको अख्तियार स्रोतले जनाएको छ ।














प्रतिक्रिया दिनुहोस्