डराउनु पर्दैन,चीनमा रहेका सबै नेपाली सुरक्षित : राजदूत होउ

काठमाडौं , माघ २२ । चीन लगाएत अन्य देशमा रहेको कोरोना भाइरसले यति बेला उग्र रुप लिएको छ । कोरोना भाइरस प्रभावित क्षेत्र चीनको उहानमा उद्धारको पर्खामा रहेका नेपाली विद्यार्थीले तत्काल आफूहरुलाई स्वदेश फर्काउन भन्दै खुल्ला पत्र लेखेका छन् ।

चीनको कोरोना भाइरस प्रभावित क्षेत्रमा कोठाभित्र बसिरहेका नेपाली विद्यार्थीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्बोधन गर्दै आफूहरु स्वदेश फर्कने दिनको प्रतिक्षामा रहेका बताएका छन् ।

प्रधानमन्त्री ओलीलाई सम्बोधन गर्दै चीनको उहानबाट लेखिएको सो पत्र पत्रकारसमेत रहेकी नेपाली विद्यार्थी प्रमिला देवकोटाले सामाजिक सञ्जाल ट्विटरमा राखेकी छिन् । कसैको नाम नराखि लेखिएको र सार्वजनिक गरिएको उक्त पत्रमा उनीहरुले विपदमा परेका नेपालीको उद्धार गर्नुको सट्टा प्रधानमन्त्रीले बाजा बजाइरहेको तस्वीर पाइएको भन्दै आलोचनासमेत गरेका छन् ।

‘तपाईहरुलाई हिजो राम्रो निन्द्रा पर्यो होला। हामी यहा चीनको हुवेइमा भएका विद्यार्थीहरु भने रातभर तपाई लगायतका नेताहरुले बजाइरको मुरली हेरेर आफैलाई चिथोरीरह्यो,’ विद्यार्थीहरुले प्रधानमन्त्री ओलीलाई सम्बोधन गरेर लेखेको पत्रमा भनिएको छ, ‘हामीले अझै पनि घर फर्कने समयको केही खबर पाएनौ। हामी यहा हरेक मिनेट नेपालका समाचार हेरेर विताइरहेका छौ । हाम्रो घर फकने समाचारको आसमा। त्यो समाचार त पाएनौ तर तपाईहरुले बाजा बजाइरहको तस्वीर भने पायौ।’उनीहरुले आफूहरु चीनमा कोठामाभित्र सुरक्षितसँग बसेको भन्दै छिटो उद्धार गर्न अपिल समेत गरेका छन् ।

यता चीनले विभिन्न सहरमा रहेका नेपालीमा कोरोना भाइरस संक्रमण नभएको प्रस्ट पारेको छ ।चिनियाँ राजदूत होउ यान्छीले नेपाली सञ्चारमाध्यमलाई दिएको अन्तर्वार्तामा भनेकी छन्, ‘हुपे प्रान्त, सहरका अधिकारी र सम्बन्धित विश्वविद्यालयले विद्यार्थीलाई उचित बसोबासको व्यवस्था मिलाएका छन् । उनीहरू सुरक्षित छन् ।’

चीनले नेपाली फर्काउने तयारी गर्न सरकारलाई सुझाव दिएको छ । हुपै प्रान्तमा रहेका करिब दुई सय नेपाली विद्यार्थीले नेपाल फर्कन निवेदन दिएका छन् । ती नेपालीलाई फर्काउन चीनले सहयोग गर्ने राजदूत होउले बताएकी छन् ।

चीनका सबै स्थानमा रहेका नेपाली सुरक्षित रहेको पनि उनले बताइन् । उनले वुहानमा रहेका नेपालीको कठिन अवस्थालाई सम्बोधन गरेको जानकारी दिएकी छन् ।

उनले विमानस्थलमा क्वारेन्टाइन, भाइरसको रक्षा र नियन्त्रणसहित विश्व स्वास्थ्य संगठनका प्रतिनिधिहरुको सल्लाहअनुसार भाइरस नियन्त्रणका लागि तयारी थाल्न नेपाल सरकारलाई सुझाव समेत दिएकी छन् ।

प्रतिक्रिया दिनुहोस्