विप्लव समूहका मुख्य आर्थिक संकलक कटवाल कलङ्कीस्थित कार्यालयबाटै पक्राउ
काठमाडौं, माघ २१ । नेत्रविक्रम चन्द समूहका नेता तथा सो पार्टीमा आर्थिक संकलन गर्ने मुख्य व्यक्ति मानिएका अर्जुन कटवाल पक्राउ परेका छन् ।
प्रहरीको विशेष ब्यूरोले कटवाललाई कलंकीस्थित उनको निजी ‘प्राइभेट अफिस’ बाट पक्राउ गरेको हो । कटवाल चन्द समूहका जनसम्पर्क समितिका केन्द्रीय कोषाध्यक्ष हुन् । चन्द, प्रवक्ता खड्गबहादुर विश्वकर्मा लगायत भूमिगत शीर्ष नेताहरुसँग उनको निरन्तर सम्पर्क रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
सिन्धुली स्थायी घर भएका कटवालको बलम्बु (चुनदेवी) मा पनि घर छ । उनी हेभी इक्वीपमेन्ट महासंघका सचिव पनि रहेको खुलेको छ ।
प्रहरीले कटवालको चन्द्रागिरी नगरपालिका–१ बलम्बु (चुनदेवी) स्थित घरमा अहिले खानतलासी गरिरहेको छ । उनको कलंकीस्थित कार्यालयबाट विभिन्न व्यक्ति उद्योगी र व्यापारी, सर्वसाधारणलगायतका नाममा काटिएका चन्दा रसिद तथा चेकबुक पनि प्रहरीले बरामद गरेको छ ।
चन्द समूहलाई प्रतिबन्ध लगाएपछि कटवाल पार्टी कामकै लागि रसिया र उत्तर कोरियाको भ्रमणमा गएको पनि खुलेको छ । उनी कुन माध्यमबाट रसिया र उत्तर कोरिया पुगे भन्ने पनि अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
सरकारले २०७५ फागुन २८ गतेबाट चन्द समूहका गतिबिधिमा प्रतिबन्ध लगाएको थियो । त्यसयता एक हजार ३४३ जना नेताकार्यकर्ता पक्राउ परेकोमा एक हजार १३४ जना धरौटी र साधारण तारेखमा छुटेका छन् ।
प्रतिक्रिया दिनुहोस्