प्रदेश राजधानी तोक्ने सरकारी निर्णयविरुद्ध धनकुटा र दाङ तनावग्रस्त साथै विभिन्न स्थानमा प्रदर्शन

काठमाडौं । प्रदेशको अस्थायी राजधानी तोक्ने सरकारी निर्णय फिर्ता गर्न माग गर्दै विभिन्न जिल्लाका विभिन्न स्थनमा आज बिहानैबाट बन्द हड्ताल, प्रदर्शन भएका छन्, सरकारी निर्णयको स्वागतमा जनकपुर, बुटवल र सुर्खेतमा दिपावली पनि भएका छन् भने धनुकटा, दाङ, डोटी, कपिलबस्तु, वीरगञ्ज लगायतका स्थानमा बन्दहड्ताल, प्रदर्शन र तोडफोड हुँदा जनजीवन कष्टकर भएको छन् ।

प्रदेश नम्बर १ को राजधानी धनकुटा बनाउनुपर्ने माग गर्दै स्थानीयबासीले धनकुटामा आमहड्ताल र प्रदर्शनलाई निरन्तरता दिएका छन् । उनीहरुले बिहीबार बिहानै प्रधानमन्त्री शेरबहादुर देउवाको पुतला दहन र शहर परिक्रमा गराएका छन् ।

बन्दको बेवास्ता गरेको भन्दै जिल्ला प्रहरी प्रमुखसहित तीनवटा नीजि सवारी साधन तोडफोड गरेका छन् । एसपी सुदिप राजभण्डारी सवार ना १ झ १३१४ नम्बरको गाडीमा तोडफोड भएपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ ।

यसैगरि सरकारले प्रदेश नम्बर ५ को अस्थायी राजधानी बुटबललाई ताकेपछि उक्त निर्णयको विरोधमा दाङका विभिन्न स्थानमा अनिश्चितकालिन बन्द आब्हान गरिएको छ । बन्दकर्ताले निर्णय फिर्ता गर्नुपर्ने मागसहित अनिश्चितकालिन बन्द गरेको जनाएका छन् । बन्दका कारण त्यस क्षेत्रको जनजीवन अस्तव्यस्त भएको छ ।

त्यस्तै सरकारले ताकेको प्रदेश राजधानीप्रति प्रदेश नम्बर ७ को डोटीमा पनि प्रदर्शन भएको छ । प्रदेश सातको राजधानी धनगढी तोकिएपछि आक्रोशित बनेका डोटीको दिपायलका स्थानीयले गएराती अबेरसम्म ढुंगामुढा र तोडफोड गरेका थिए । सरकारी निर्णय बदलेर क्षेत्रिय प्रशासन कार्यलय भएको दिपायललाई नै प्रदेश ७ को राजधानी बनाउनुपर्ने स्थानीयको माग छ ।

अस्थायी राजधानी तोकेपछि कपिलवस्तुमा पनि बिरोध भएको छ । सरकारले ५ नं प्रदेशको राजधानी रुपन्देही तोकेपछि कपिलवस्तु युवा संर्घष समितिको अगुवाइमा बिरोध गर्दै हिजो साझ ५ बजे बाट तीन दिन सम्म जिल्ला बन्द गर्ने निर्णय गरुेको छ ।

त्यस्तै प्रदेश नम्बर २ अन्तर्गत वीरगन्जमा पनि विरोध प्रदर्शन भएको छ । स्थानीय, नेता कार्यकर्ता तथा अगुवाहरुले वीरगन्ज बन्द आह्वान गरेर विरोध सुरु गरेका छन् । बिहानै बीरगञ्जका स्थानीयले २ नम्बर प्रदेशको राजधनी वीरगन्ज बनाउनुपर्ने मागसहित प्रदर्शन गरेका हुन् ।
आक्रोशित आन्दोलनकारीले एउटा निजी कार तोडफोड गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्