आधा भूकम्प प्रभावित अनुदान पाउनबाट वञ्चित

काठमाडौं । भूकम्पले क्षति पुगेकामध्ये नुवाकोटमा सरकारी अनुदानका लागि तोकिएको समयभित्र आधा भुकम्प पिडीतले मात्र आवास निर्माणको प्रक्रिया अघि बढाएका छन् ।

२०७३ पुस मसान्तसम्म पहिलो किस्ता रकम लिएकालाई यो वर्षको पुस मसान्तसम्म दोस्रो किस्ता प्राप्त गर्न घरको जग बसाल्नुपर्ने भनी राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले दिएको समयमा करिब आधा मात्र आवास निर्माणको प्रक्रियामा रहेको जिल्ला आयोजना कार्यान्वय इकाईले जनाएको छ ।

इकाईका अनुसार पुस मसान्तसम्म नुवाकोटका ३० हजार ६०५ घरधुरीको आवास निर्माण शुरु गरेका छन् । अधिकांश लाभग्राहीले २०७३ साल पुस मसान्तभित्रै पहिलो किस्ता रकम लिएर पनि आवास निर्माण शुरु नगरेकाले बाँकीले सरकारी अनुदान पाउनबाट वञ्चित हुने देखिएको हो ।

नुवाकोट जिल्लामा भूकम्प र त्यसपछिका परकम्पले ६९ हजार २८९ घर पूर्ण रुपमा क्षति भएकाले सरकारी अनुदान प्राप्त गर्ने लाभग्राही सूचीमा सूचीकृत भएको सरकारी तथ्याङ्क छ ।

पहिलो किस्ता रकम लिएकामध्ये पुस मसान्तसम्म ३० हजार ६ सय पाँच घरधुरीले आवास निर्माण शुरु गरेका छन् भने दोस्रो किस्ता रकम प्राप्तिका लागि ३० हजार ५४३ घरधुरीले निवेदन दिएको स्रोतले जानकारी दियो ।

स्रोतका अनुसार निवेदन दिएका मध्ये २६ हजार ६९९ घरपरिवार रकम पाउन योग्य ठहरिएका छन् भने तीन हजार ८६४ घरपरिवारको चेक बन्ने प्रक्रियामा छ । ७६ वटा घरको निर्माण तोकिएको मापदण्डअनुसार नभएकाले दोस्रो किस्ता रकम रोकिएको छ । आवास निर्माण सम्पन्न भएका चार हजार ४१० घरपरिवारले तेस्रो किस्ताका लागि निवेदन दिएकाले रकम निकासा शुरु भएको छ ।

भूकम्पले आवास क्षति पुगेर सरकारी अनुदान सहयोगमा रु तीन लाख प्राप्त गर्नेको लाभग्राही सङ्ख्या एक हजार १०२ घरधुरी रहेकामा ११५ ले आवास निर्माण सम्पन्न भएको प्रमाणपत्रसमेत प्राप्त गरेको इकाईले जनाएको छ । भूकम्पले आवासमा क्षति बेहोरेकाले पुनःनिर्माण कार्यविधि जारी हुनुपूर्व नै निर्माण सम्पन्न गरेका पाँच हजार ३६४ घर मापदण्डअनुसार नभएकाले अनुदान रकम पाउनबाट वञ्चित भएका छन् ।

प्राविधिकहरु कार्यक्षेत्रमा परिचालन हुनुपूर्व नै निर्माण सम्पन्न भएका घरले आंशिक रुपमा मापदण्ड पूरा नगरेको पाइएकाले त्यस्तालाई प्रबलीकरण तथा सबलीकरण गरी अनुदान सिफारिशका लागि योग्य बनाउने प्रयास भइरहेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला समन्वय समितिको सचिवालयले जानकारी दियो ।

प्रतिक्रिया दिनुहोस्