अवरुद्ध भएको इन्टरनेट सेवा एक महिनापछि सुचारू

काठमाडौं, माघ १८ । मुगुलगायत कर्णालीका जिल्लामा विगत एक महिना दिनदेखि अवरुद्ध भएको एडिएसएल इन्टरनेट सेवा शुक्रबारबाट सुचारु भएको छ। गत पुस १७ गतेबाट अबरुद्ध भएको नेपाल टेलिकमद्वारा वितरित एडिएसएल इन्टरनेट शुक्रबार साझाबाट मात्रै सुचारु भएको हो।

कर्णालीका जिल्लामा भएको बाक्लो हिमपातसँगै जुम्लाको डाँफे र दैलेखकको माहावुमा रहेको रेडियो लिंक टावरमा समस्या आएपछि साविकका कर्णाली मुगु, हुम्ला, जुम्ला,डोल्पा,कालीकोट जिल्लाको अधिकांश क्षेत्रमा सञ्चार सेवा प्रभावित भएको थियो। एक महिना दिनदेखि एडिएसएल इन्टरनेट सेवा ठप्प भएको समचार थाहाखबरमा बारम्बार प्रकाशित भएपछि र समाचारलाई कार्यान्वन गरी कर्मचारी काममा निरन्तर खटिएपछि शुक्रबार साँझबाट इन्टरनेट सेवा सुचारु भएको हो।

हिमपातसँगै अवरुद्ध भएको नमस्ते मोवाइल सेवा दुई सातापछि सुचारु भएको थियो भने इन्टरनेट सेवा शुक्रबारबाट मात्रै सुचारु भएको नेपाल टेलिकम क्षेत्रीय कार्यालय नेपालगञ्जले जनाएको छ। सेवा अवरुद्ध भएपछि जिल्लामा सूचना–सम्पर्कलगायत दैनिक सरकारी तथा गैह सरकारी कार्यालयबाट प्रवाह गरिने सेवामा नागरिकलाई सास्ती भएको थियो।

एक महिनादेखि एडिएसएल सेवा प्रभावित हुँदा विशेष गरी बैंक तथा बित्तीय संस्थाको कारोवार अवरुद्ध भएको थियो भने जिल्लास्थित सञ्चार माध्ययमलाई निकै प्रभावित बनाएको थियो। देशकै प्रमुख पर्यटकीय क्षेत्र रारामा फ्रोरजी सेवा समेत नचल्दा यहाँ आएका आन्तरिक तथा बाह्य पर्यटकले राराको सौन्दर्यता इन्टरनेटमार्फत आफन्तजनसँग साट्न पाएका थिएनन्।

इन्टरनेट नहुँदा स्वयं नेपाल टेलिकमको मुगु कार्यालयलाई समेत विल भुक्तानी, सिम बिक्रीलगायतका काम गर्न समेत गाह्रो भएको थियो। यसरी इन्टरनेट नचल्दा सेवाग्राही समस्यामा परेका थिए । अब भने केहि सहजता भएको उनीहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्