कोरोना भाइरसः वुहानबाट भारतले ल्यायो ३२४ भारतीयलाई विशेष विमानबाट फिर्ता

काठमाडौं । चीनमा कोरोनाभाइरसको कारण मर्नेको संख्या २५९ पुगिसेको छ भने झण्डै १२ हजार मानिस भाइरस संक्रमित भएका छन् ।

कोरोना भाइरस अहिलेसम्म विश्वका २१ देशमा फैलिसकेको छ । तथापि कोरोना भाइरसबाट मर्ने मानिस चीनभित्रका मात्र छन् । यसैबीच भारतले वुहानबाट ३२४ भारतीयलाई विशेष विमानबाट फिर्ता ल्याएको छ । कोरोनाभाइरसको संक्रमणले गम्भिर रुपलिएपछि भारतले चीनको वुहानमा फसेका भारतीयलाई आफ्नो देश फिर्ता ल्याएको हो ।

३२४ भारतीय बोकेको एयर इण्डियाको डबल डेकर जम्बो ७४७ विमान शनिबार विहान दिल्ली पुगेको हो । फर्किएकामध्ये अधिकाशं वुहानमा बसेर अध्ययन गर्ने विद्यार्थी छन् ।विमान शुक्रबार राती वुहानबाट उडेको थियो । वुहानबाट ल्याएका सबै भारतीयलाई सैन्य चिकित्सा सेवा र विमानस्थलको स्वास्थ्य निकायले जाँच गर्नेछ ।

यदी कसैलाई कोरोना भाइरस लक्षण भेटिएमा तिनलाई हरियाणाको मानेसरको शिविरमा लगिनेछ । सेनाले चीनबाट फर्काइएका भारतीयमा कोरोनाभाइरस देखिएहरुमा अलग्याएर उपचार गर्नको लागि उक्त शिविर बनाएको हो ।मानेसरको शिविरमा ३०० व्यक्तिको उपचार गर्न सकिने हिसाबले बनाइउको छ ।

यसैबीच यता नेपाल सरकारले कोरोना भाइरसको संक्रमण रहेको चीनको वुहानमा रहेका नेपाली विद्यार्थीलाई स्वदेश ल्याउन प्रक्रिया सुरु गरेको छ । नेपाली विद्यार्थीलाई स्वदेश ल्याउनको लागि सहजीकरण गर्न चीन सरकारलाई पत्र पठाइएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

यसरी ल्याउने विद्यार्थीलाई आइसोलेसन अर्थात छुट्टै ठाउँमा राख्ने व्यवस्था भएपछि मात्र चीनले फिर्ता ल्याउन अनुमति दिनेछ । यसरी ल्याइएका विद्यार्थीलाई आवश्यक पर्दा निगरानीको लागि छुट्टै ठाउँको व्यवस्था गर्न काठमाण्डौका केही अस्पताललाई निर्देशन दिइएको पनि मन्त्रालयले जनाएको छ ।

वुहान शहरमा रहेका नेपाली विद्यार्थीमध्ये १ सय ७७ जना नेपाली दूतावासको सम्पर्कमा छन् । उनीहरु कोरोना भाइरसको संक्रमणबाट सुरक्षित भए पनि मनोवैज्ञानिक त्रासमा छन् । विद्यार्थीहरुले आफूहरुलाई छिटो स्वदेश फर्काउने पहल गर्न सरकारसँग आग्रह गर्दै आएका छन् ।

यसैबीच स्वास्थ्य मन्त्रालयले चीनमा रहेका नेपालीलाई नआत्तिन तर सजक हुन अनुरोध गरेको छ । मन्त्रालयले विज्ञप्ती निकालेर चीन सरकारले चालेका कदमलाई मनन गरी सुरक्षाका लागि चालिएका सबै प्रयासमा सहयोग गर्न आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्